Shittalpati
पाल्पामा निषेधाज्ञा खुकुलो बनाउँदै,थप्दै : नीजि सवारी,सरकारी कार्यालय र होटल खुल्ने

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी राखिएको निषेधाज्ञा खुकुलो बनाउँदै, थप्दै लगिएको छ । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको हो ।

मंगलबार राती १२ बजेदेखि सकिन लागेको निषेधाज्ञालाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैंठकले छैठौ पटक लम्ब्याएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले निषेधाज्ञा पुनः असार ३१ गते राती १२ बजेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी गराए । पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको छ । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ ।

सोमबार बसेको डिसीसीएमसीको बंैठकले निषेधाज्ञालाई पुनः खुकुलो बनाउदै होटल,सरकारी कार्यालय र नीजि सवारी खोल्न दिने निर्णय गरेको छ । यस अघि बन्द रहेका होटल तथा रेस्टुरेण्ड, चिया तथा खाजा पसल, चमेना गृहहरु विहान ७ देखि साँझ ७ बजेसम्म खोल्न पाइने छ । संस्कृति तथा नागरिक उड्यान मन्त्रालयले जारी गरेको होटल सञ्चालन सम्बन्धी मापदण्ड र स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरु पुरा रुपमा पालना गराई खोल्न दिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले होटल तथा रेष्टुरेण्डहरुले सञ्चालन गर्दै आएको अवे सेवालाई पनि प्राथमिकता दिन भनेको छ । उसले विवाह,ब्रतबन्ध,तथा अन्य धार्मिक , सामाजिक कार्यमा भोजभतेर खुवाउने गरी होटल, रेष्टुरेण्ड तथा पार्टी प्यालेसहरु सञ्चालनमा भने रोक लगाएको छ ।

नीजि सवारी साधनहरू भने खुला रहने भएका छन् भने सार्वजनिक यातायातमा भने पूर्ण रूपमा बन्द गरिएको छ । एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु,औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु,चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक सवारी साधनहरुको सञ्चालनमा भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

विद्यालय,कलेज तथा धार्मिक स्थलहरु, पार्लर, शैलुन लगायतका क्षेत्रहरु बन्द नै रहने छन् । बैंठकले यस अघि विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, बाहेक अन्य पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्न दिएकोमा यसको समय बढाएर ३ बजेसम्म पुर्‍याएको छ । बैंक तथा वित्तिय संस्थाहरु भने विहान १० बजेदेखि ५ बजेसम्म नै सञ्चालन हुने छन् । बैठकले यस अघि बन्द रहेका मालपोत, नापी, वडा तथा नगरपालिका लगाएत सरकारी कार्यालयहरु भने सञ्चालन गर्ने निर्णय गरेको छ । औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने छन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update