
पाल्पा,पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमणको अवस्था कायमै रहेकाले निषेधाज्ञा पुनः असार ३१ गतेसम्म लब्याइएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैंठकले निषेधाज्ञा थप गरिएको जनाएको छ । यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा छैठौ पटक थप गरिएको हो । जारी निषेधाज्ञा भोली राती १२ बजेदेखि सकिदै छ । निषेधाज्ञाको समयलाई थप गरेर असार ३१ गते राती १२ बजेसम्मलाई लम्वाइएको हो । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ । बैंठकले यस अघि होटल तथा रेष्टुरेण्ड, विद्यालय, धार्मिक संघ संस्था, शैलुन, पार्लर, बाहेक अन्य पसलहरु विहान ७ बजेदेखि १२ बजेसम्म खोल्न दिएकोमा यसको समय बढाएर ३ बजेसम्म पुर्याएको छ । बैंक तथा वित्तिय संस्थाहरु भने विहान १० बजेदेखि ५ बजेसम्म नै सञ्चालन हुने छन् ।
यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु बाहेक अन्य निजी तथा सार्वजनिक यातायातमा भने रोक लगाइएको छ । एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने छन् ।