Shittalpati
यसो गरौँ


                               विष्णु घर्ती ‘भनभनेली’

म भन्छु ‘यसो’ गरौँ

उहाँ भन्नुहुन्छ ‘यसो’ गरौँ

मेरो भनाइको तात्पर्य अर्कै छ

उहाँको तयारी झन् अर्कै छ

मेरो ‘यसो’ र उहाँको ‘यसो’

सुन्दा एउटै जस्तो छ

तर¸ दुईटा ‘यसो’ हरू

मिल्ने छैन कुनै मेसो

पूर्व छ एउटा पश्चिम छ अर्को

गर्ने हो अब कसो ?

उपाय दिने अनेक छन्

उहाँलाई दिने पनि छन्

मलाई दिने पनि कम छैनन्

दुबैलाई सिकाउँने एउटै पनि छन्

दुबैलाई मिलाउँने फरक पनि छन्

अर्ति दिनेका आफ्नै स्वार्थ छन्

मैले पनि कामै गर्ने हो

उहाँले पनि कामै हो गर्ने

तर, फरक यत्ती हो कि

उहाँले अरुलाई गुन लाउँनु छ

मैले खाएको नुन मिलाउँनु छ

उहाँ कानुन बनाउँनुहुन्छ

म कानुनभित्र रहन खोज्छु

विधि,विधान मान्न तम्सन्छु

त्यसैले ‘यसो’ गरौँ भन्छु म

तर, उहाँ पनि ‘यसो’ गरौँ भन्नुहुन्छ

कानुन बनाएको बिर्सनुहुन्छ

अनि,आफु र आफ्नाका लागि

‘यसो’ गर्नै पर्छ भन्नुहुन्छ ।

 

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update