Shittalpati
सरकारको सकारात्मक कदम

नेपालमा कोरोना महामारी कायमै छ । महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी राखेको छ, भने खोप ल्याउनका लागि विभिन्न देशहरुसँग पहल गरिरहेको छ । सरकारले चीनबाट ३० लाख मात्रा भेरोसेल खोप ल्याउन लागेको छ । सबैको आशाको नजर कोभिड–१९ प्रतिरोधक खोपतर्फ नै गएका बेला सरकारले गरेको पहल आफैंमा सकारात्मक छ ।
कोरोनाको दोस्रो लहर जारी रहेको यो समयमा करिब ५ प्रतिशत नागरिकलाई दुवै मात्रा पुग्ने गरी आउन लागेको खोपले थोरै राहत दिने अपेक्षा गर्न सकिन्छ । पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्राको जोहो गर्न दिन–प्रतिदिन ढिलाई भइरहेको छ, यसको तत्काल व्यवस्था मिलाउन पनि सरकारले हरसम्भव प्रयास गरिरहेको देखिन्छ । ढिलाई गरेर भए पनि सरकारले खोप ल्याउन गरेको चालेको कदमको सबैले प्रशंसा गर्नुपर्दछ । नयाँ भेरियन्टको विकास हुँदै जाँदा तेस्रो लहर आउने अनुमान गर्न थालिएको समयमा आउन थालेको चिनियाँ खोपले थोरै भए पनि आशा जगाएको छ । नेपालले अहिलेसम्म भारतबाट किनेको १० लाख डोजबाहेक चीन र भारतबाट अनुदानमा पाएको र विश्व स्वास्थ्य संगठनमार्फत पाइएको समेत गरी २६ लाख नागरिकलाई खोप लगाएको छ । जसमध्ये जम्मा सात लाखले दोस्रो डोज लगाउन पाएका छन् । गरिब देशमध्ये नेपाल खोप लगाउने संख्याका दृष्टिले नराम्रो स्थानमा नरहेको भए पनि कोरोना महामारी नियन्त्रण गर्न र नागरिकलाई सुरक्षित राख्न अझै कम्तीमा पनि चार करोड डोजजति खोप ल्याउनु र लगाउनु आवश्यक छ । बालबालिकाको समेत सुरक्षाका लागि खोप व्यवस्था गर्नुपर्ने भएकाले खोप त्यसभन्दा बढी संख्यामा आवश्यक पर्छ । सरकारले थप प्रयास गर्ने हो भने यसै वर्षभित्र सबैका लागि खोप उपलब्ध हुन सक्ने सम्भावना अझै छ । अहिले बढेको आशा जगाइराख्न पनि खोपको निरन्तर उपलब्धता आवश्यक छ । सरकारले खोपका लागि पहल जारी राख्नुपर्छ भने अर्कातिर सक्दो धेरै नागरिकलाई खोप लगाउन उत्पादक मुलुक तथा कम्पनीहरूसित खरिदका निम्ति सार्थक प्रयास गर्नुपर्छ ।

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update