Shittalpati
गुल्मीका पत्रकारहरुद्वारा सञ्चार विधेयक पुनर्लेखन गर्न माग

रमेश विश्वकर्मा
गुल्मी,नेपाल पत्रकार महासंघ गुल्मीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत ज्ञापन पत्र बुझाएको हो । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि हालै पठाएको संचार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रति गम्भिर ध्यानाकर्षण जनाउँदै मुख्यमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताए ।

‘यो विधेयकको उद्देश्य प्रदेश भरीका सञ्चार माध्यमहरुको हकहितको रक्षा गर्ने र नियमन गर्ने हुनु पर्ने थियो।’ अर्यालले भने,‘तर यो विधेयकमा दण्डरिवाना देखि जेल सजायसम्मको प्रावधान राखिएको छ ।’ आजको व्यवस्था ल्याउनका लागि सञ्चार माध्यम र सञ्चारकर्मीहरुले हिजो खेलेको भूमिका चटक्क विर्सिएर मिडिया र मिडियाकर्मीहरु माथि कानुनी दण्ड चलाउने सोच विधेयकमा प्रष्ट झल्किएको अर्यालले बताए ।


तत्काल विधेयक प्रदेश सभाबाट फिर्ता गरेर पुर्नलेखनको वातावरण मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए । मुख्यमन्त्री पोखरेलाई तत्काल सरोकारवालाहरुसंग छलफल गराएर संचारमैत्री विधेयक निर्माणको वातावरण बनाउन पनि आग्रह गरिएको कुँवरको भनाई छ। नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई बोधार्थ गरिएको ज्ञापन पत्रमा प्रदेश सरकार यहि अवस्थामा अघि बढेमा थप आन्दोलनका कार्यक्रमहरु प्रदेशभरी नै संचालन गर्न बाध्य हुने चेतावनी दिन समेत दिइएको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update