Shittalpati
सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग

रामचन्द्र रायमाझी
पाल्पा,लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न पाल्पाका पत्रकारहरुले माग गरेका छन् । आइतबार जिल्लामा आवद्ध पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयमार्फत प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेलाई ज्ञापनपत्र बुझाउँदै विधेयक फिर्ता लिन माग गरेको हो ।

विधेयक ल्याउँदा सरोकारवालासँग पर्याप्त छलफल नभएको, नेपालको संविधानको मौलिक हक,नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताका मूल्य मान्यता विपरित र पत्रकारितालाई फौजदारी कानूनले नियन्त्रण गर्न खोजेकाले विधेयक आपत्तिजनक रहेको पाल्पाली पत्रकारहरुको ठहर छ । विधेयक संविधानको मर्म विपरित प्रेस स्वतन्त्रता कुण्ठित गर्ने, पत्रकारलाई जेल सजाय, पत्रपत्रिकाको दर्ता खारेजीसम्मका आपत्तिजनक प्रावधान रहेकाले तत्काल खारेज गर्नु पर्ने महासंघका सल्लाहकार झपेन्द्र गहिरेले बताए ।

सञ्चार क्षेत्रका विज्ञ र नागरिक समाजका प्रतिनिधि राखेर दफाबार छलफल गरी आएका सुझाव समेटेर पुनर्लेखन हुनुपर्छ, अन्यथा महासंघ आन्दोलनमा जान बाध्य हुने महासंघका जिल्ला अध्यक्ष रेखीराम रानाले बताए । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि पत्रकार र सञ्चार माध्यमले पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै प्रदेश सरकारले उनीहरु माथि नै दण्ड, सजायसम्मको प्रावधना ल्याउने गरी सञ्चार विधेयक ल्याउनु गलत भएको भन्दै यो विधेयक तत्काल फिर्ता गर्न माग गरे ।

‘सञ्चारमाध्यम र पत्रकारहरु माथि नियमन गर्ने भन्दा नियन्त्रण गर्ने सोचबाट आएको प्रस्ट छ । यो विधेयक आएकोमा महासंघ गम्भीर बनेको छ’ अध्यक्ष रानाद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ ‘सञ्चार माध्यम र सञ्चारकर्मीहरुको मर्म र भावना विपरित आएको विधेयक प्रदेश सभाबाट तत्काल फिर्ता गरेर पुर्नलेखन गरिनु पर्दछ,अन्यथा पत्रकार महासंघ पाल्पा आन्दोलनमा जान बाध्य हुने छ ।’ ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले पत्रकारहरुको जायज मागहरु सम्बोधनका लागि तत्काल मुख्य मन्त्रीको कार्यालयमा पठाइदिने बताए । सरोकारवालाको सुझावका आधारमा विधेयक पुनर्लेखन नगरे आन्दोलनमा जान बाध्य हुने महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीनाले बताए ।

यस्तो छ विधेयकमा

प्रदेशमा सञ्चार माध्यमको दर्ता, अनुमति, प्रशासन, प्रशारण, सञ्चालन, नवीकरण र नियमन गर्न तथा प्रदेश सञ्चार परिषद्को स्थापनाका लागि आवश्यक व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारले सञ्चार विधेयक २०७७ प्रदेश सभामा दर्ता गरेको छ । प्रस्तावित विधेयकमा मिडिया काउन्सिलले सञ्चार माध्यमको दर्ता नवीकरण बन्द गर्नसक्ने, इजाजतपत्र नलिई कुनै कार्यक्रम प्रसारण गरेमा, रजिष्टारले इजाजतपत्र वापत लाग्ने दस्तुर र प्रसारण वा वितरण शूल्क असुल गरी सोही रकम बराबरको रकम जरिवाना वा एक वर्ष कैद वा दुवै सजायको व्यवस्था गरिएको छ । परिच्छेद ४ को दफा ६९ मा कसुर तथा सजाय सम्बन्धी व्यवस्थामा यस्तो व्यवस्था गरेको हो ।

दफा ७० मा दर्ता नगरी कुनै प्रकाशन प्रकाशित गरेमा त्यस्तो व्यक्तिलाई रजिष्टारले ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय गर्न सक्ने छ भनिएको छ । दफा ७१ मा झुठ्ठा विवरण दिएमा १० हजार, ७२ मा विवरण उल्लेख नगरेमा ५ हजार जरिवाना गर्ने व्यवस्था छ । यस्तै ७३ मा रोक लगाइएको विदेशी प्रकाशन पैठारी गरेमा १० हजार जरिवाना, ७४ मा प्रतिबन्धित वा निषेधित प्रकाशन निसकी वा बिक्री गरेमा १० हजार जरिवाना र प्रकाशन जफत गर्ने व्यवस्था छ ।

दफा ७५ मा दर्ता नगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन गरेमा त्यस्तो व्यक्तिलाई ५ हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुने उल्लेख छ । अनलाइन माध्यमले झुठ्ठा विवरण पेश गरेमा ५ हजार जरिवानाको व्यवस्था दफा ७६ मा छ भने ७७ मा निर्देशन उल्लंघन गरेमा १० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैदा वा दुबै सजायको व्यवस्था गरेको छ । त्यसैगरी सञ्चार माध्यमले राज्यले बन्देज गरेका विषयमा समाचार प्रकाशन र प्रशारण गरेमा सञ्चार माध्यम बन्द गर्न सकिने उल्लेख छ ।

 

 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update