Shittalpati
खुकुलो निषेधाज्ञा

पाल्पा लगायत देशभरका जिल्लाहरुमा अहिले निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गर्दै लगिएको छ । लामो समयको बन्दाबन्दीका कारण अर्थतन्त्र र जनजीविकामा समस्या पर्दै गएको अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनु सकारात्मक हो तर महामारी नियन्त्रणतर्फ भने ठोस योजना सरकारको देखिदैन । कति बेला निषेधाज्ञा कडा बनाउने र कति बेला खुकुलो बनाउने भन्ने विषयमा सम्बन्धित निकायले ध्यान नदिनु दुखद् हो । अर्थतन्त्र र व्यावसायिक क्षेत्रका समस्या यथावत् छन् । खोप आउने सम्भावना हराउँदै गएको भान हुन्छ ।

यस्तोमा धेरैभन्दा धेरै परीक्षण गरेर नागरिकलाई निश्चित पार्न सकेमात्रै पनि यसको लहर कम गर्न मद्दत मिल्ने छ । कोरोना संक्रमितको संख्या घट्दै गएको देखिन्छ । तर, परीक्षण नै घटाइएकाले महामारीको वास्तविक अवस्था के छ भन्न सकिने आधार छैन । नागरिकका प्रायः सबै प्रकारका दैनिकी सञ्चालन गर्न दिने निर्णय सरकार पक्षबाट भएको हुँदा यो निषेधाज्ञा हो कि होइन भन्नुपर्ने अवस्था छ । संक्रमण एकबाट दुई, दुईबाट चार र चारबाट आठ हुँदै फैलिन्छ । त्यसैले दुईजनाबीच भेटघाट गर्नसमेत डराउनुपर्ने अवस्थामा अहिले जारी रहेको निषेधाज्ञामा प्रायःसबैजसो कुरा सञ्चालनको अनुमति पाएकाले अब कोरोना संक्रमणबाट पहिलेभन्दा बढी डराउनुपर्ने अवस्था सिर्जना भएको छ । बजार, पसललगायत किनमेल केन्द्रहरू र सार्वजनिक यातायात सञ्चालनमा आउनासाथ यो कोरोनाको बिउ रोपे समानको अवस्था हो ।

अहिले आर्थिक वर्षको अन्तिम समय भएकाले पनि सरकारले राजस्व संकलनका लागि निषेधाज्ञा खुकुलो बनाएको आंकलन गर्न सकिन्छ । यो अवस्थामा निषेधाज्ञा खुकुलो गर्नु उपयुक्त नै हो । तर, खुकुलो बनाउँदै जाँदा सबै खुकुलो बनाउने र कडाइ गर्दा सबै क्षेत्रमा कडाइ गर्ने सरकारी तरीका भने उपयुक्त देखिँदैन । अहिले सरकारले निषेधाज्ञा कायमै राखेको जनाए पनि सरकारले बन्द गराएका क्षेत्र पनि निर्वाध चलिरहेका छन् । तर, अनुगमन र कारवाही हुन सकेको छैन जसले गर्दा निषेधाज्ञाको मर्मविपरीत नागरिक र व्यवसायीको क्रियाकलाप भइरहेको पाइन्छ । यसले गर्दा संक्रमणको अवस्था झन विराल बन्न सक्नेतर्फ सरकारले हेक्का राख्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update