Shittalpati
धानमा परनिर्भरता

कृषिमा आधुनिकरण नहुँदा परनिर्भता बढेको छ, भने सरकारले कृषिमा कम बजेट विनीयोजन गर्दा समेत यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा परेको छ । त्यसो त यस वर्ष विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले समेत कृषिमा नराम्रो असर पारिरहेको छ । हाम्रो देश कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गरेको छ । पशुपालन, अन्नबाली र नगदेबाली लगाएर जीविकोपार्जन गर्ने मात्रै होइन, यसबाटै आर्थिक उन्नति गर्ने लक्ष्य पनि राखिन्छ ।
खेती किसानी गर्नेहरुको मुख्य सिजन भनेकै असार–साउन हो । यतिबेला प्रमुख बालीको रुपमा रहेको धान खेती गरिन्छ । धान खेती गर्न यो अनुकूल सिजन पनि हो । खेतीपातीमा खटिने किसानहरूलाई यतिबेला भ्याइनभ्याई छ । दिनभर माटोमा र हिलोमा खेल्नु, मलखाद तयार गर्नु र अन्नबाली लगाउनु उनीहरूको दैनिकी बन्छ । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । नेपालमा धान खेती र यसको उत्पादन तुलनात्मक रूपमा बढ्दै गए पनि अझै आत्मनिर्भर भने बन्न सकेको छैन । कुनै बेला धान–चामल निकासी गर्ने नेपाल रायोको सागदेखि पीठोसम्म आयात गर्नुपर्ने अवस्थामा अहिले छ । छाक टार्न नभई नहुने कृषिजन्य वस्तु आयात गर्नुपर्ने बाध्यता त्यसै उब्जेको होइन । कृषिमा व्यवसायीकरण र विविधीकरणको अभाव, कृषि सामग्रीको उचित बन्दोबस्ती, वास्तविक किसानसँग जमिन अभाव र कृषि कर्म गर्ने जनशक्तिको अभावका कारण धान लगायत अन्य खाद्यान्नमा परनिर्भरता बढेको देखिन्छ । नेपालमा धानको अत्याधिक प्रयोग हुने गरेको छ । नेपालीले भात बढी रुचाउने भएकाले धानको माग बढी भएको मानिन्छ । नेपालमा लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्दछ । तर, आर्थिक वर्ष ०७७÷७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्यांक छ । अन्य वर्षको तुलनामा उत्पादन वृद्धि भए पनि अझै पनि देशलाई अपुग नै देखिन्छ । जसले गर्दा देशले वार्षिक रूपमा ३० अर्बभन्दा बढी रुपैयाँको चामल आयात गर्दै आएको छ । किसानहरूले सिँचाइ र गुणस्तरीय बीउको अभाव तथा धानको राम्रो बजार नपाउनेजस्ता पुरानै समस्या कायम रहँदा उत्पादन वृद्धि दिगो हुन सकेको छैन । असारे झरीमा रुझेर धान खेती गरे पनि उत्पादन पछि भुसको भाउमा धान बेच्न किसान बाध्य छन् । किसानको समस्याप्रति सरकार संवेदनशिल भए मात्र धान उत्पादन वृद्धि गर्न सकिन्छ । अन्यथा सधै भरी धानमै परनिर्भर हुनु पर्दछ ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update