Shittalpati
काँग्रेस अब सच्चिने कि सिद्धिने ?

प्रकाश नेपाल

नेपाली काँग्रेस १४ औ महाअधिवेशनको तयारीमा जुटेको छ । कोभिड संक्रमणको महामारीमा महाअधिवेशन काँग्रेसका लागि रहर भन्दा बाध्य हो । राष्ट्र राष्ट्रियताको संरक्षण र जर्गेनाका लागि महत्व पूर्ण भुमिका खेलेको पार्टीको लामो इतिहास भए पनि केन्द्रिय नेतृत्वको असक्षमताका कारण भविष्य छोटिदै गएकाले त्यसको शाख जोगाउदै ,सुनौलो भविष्य निर्माणका लागि भए पनि नेतृत्व परिवर्तनको अहिलेको आवश्यकता हो । भारतमा पनि अगं्रेजको दाशत्वबाट उन्मुक्ति दिलाउनका लागि पण्डित जवाहरलाल नेहरु महात्मा गान्धीको ठूलो भूमिका रहेको थियो । उनीहरुको लगानी र योगदानमा भारतिय काँग्रेस पार्टीको स्थापना भएको हो । त्यसै गरी नेपालमा वि.पी कोइराला,गणेशमान सिंह ,सुर्वण शमशेर, कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाली काँग्रेसको स्थापना भएको थियो । काँग्रेसको नेतृत्वमा नेपालमा राणा साशनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको थियो तर पछि राजाबाट कु भएको सबैलाई ज्ञान नै छ ।

भारतको काँग्रेसलाई यतिखेर भारतिय जनता पार्टीले ओझेलमा पारेको छ । त्यसैगरी नेपालमा पनि नेकपाले होईन ओली तन्त्रले काँग्रेसलाई बत्ती बालेर खोज्नु पर्ने वातावरण सिर्जना बनाएको छ । जब आम जनतालाई असिमित सपना देखाएर ओलीको दोस्रो पटक सत्ता रोहण भयो । तब काँग्रेसलाई आम जनतासँग जाने राम्रो बाटो बन्यो । ओली नेतृत्व सरकारबाट भएका काम जनता समक्ष पु¥याएर काँग्रेसको संगठन बलियो बनाउने यस्तो अवस्थालाई कहिल्यै पनि उपयोग गर्न सकेन् । यस अवधिमा धेरै विषय थिए तर नेतृत्व सदैव मौन बसेर ओलीसगँ भाग बण्डामा सझौता नै गरेको हो । कञ्चनपुरको बालिका निर्मला पन्थको हत्या प्रकरणबाटै सरकारको दिन गन्ती सुरु भएको थियो । यस प्रकरणमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाट सदन सरकारको धारणमा माग गरिएको सुनिएन देखिएन , ३३ किलो सुन प्रकरणमा एक जनाको मृत्यु समेत भयो । त्यो पनि भ्रष्ट, तस्कर सरकार भन्ने राम्रो अवसरलाई काँग्रेसले गुमायो । त्यस्ता यस्ता प्रकरण धेरै छन् । सरकार , राम्रो विधि विधान र कानुन र संविधान अनुरुप सञ्चालनका लागि बलियो प्रतिपक्ष हुन पर्दछ । प्रतिपक्ष कमजोर भएको ठाउँमा सरकार यस्तो हुन्छ । सदन ढलेर विधेयक ल्याउनेले ६÷६ महिनामा संसद विघटन हुन्छ । यो सबै प्रतिपक्षका कारण हो ।

कोभिड महामारी भन्नु एउटा बहाना मात्र हो । सधै सरकार आफ्नै तौर तरिकाले मनोमानी रुपमा चलेका कारण गत वर्ष स्वस्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी समुह प्रकरण भयो तर यसमा प्रमुख प्रतिपक्ष दलका नेताको कस्तो प्रतिक्रिया आउला भनेर लाखौं काग्रेस कार्यकर्ता प्रतिक्षारत थिए । तर प्रवक्ताको सामान्य विज्ञप्ति मात्र आयो । सरकारमा रहेका मन्त्री केही घुस काण्ड, कोही महिला काण्डमा मुछिए । तर तिनलाई कानुनी कठघरामा उभ्याउनका लागि काँग्रेसको प्रभावकारी भूमिका नै देखिएन जसले गर्दा काँग्रेस समेत कमजोर हँुदै गएको आम जनताले महसुस गर्दै गएका छन् । काँग्रेस सधै आन्तिरिक खिचातानीमा मुछिदै गयो। कुनै समय थियो गिरिजा बाबुलाई दोष दिने । उनका कारण यस्तो भयो भन्ने दिन थियो तर त्यो त केही नै रहेन छ । उनले त पार्टी प्रतिपक्षमा रहँदा खवरदारी गरे तर शेरबहादुरले त्यो पनि गर्न नसक्दा सरकारसँग मिलेर भागबण्डाको खेलमा लाग्दा आज काँग्रेस कार्यकर्तामा उत्साह भन्दा निरासा बढी छ । भनिन्छ खोलाको मुहान सफा भए खोला पनि सफा हुन्छ त्यही शैली त्यही प्रवृत्ति तलसम्म पुग्यो । पार्टीको जग ठानिने नेपाल विद्यार्थी सघं , तरुण दल २ /४ जनामा सिमित छ । धेरै भातृ तथा शुुभेच्क्षुक संस्थाको महाधिवेशन नभएको झण्डै १० वर्ष भयो । पार्टी भित्र पनि सत्ता पक्ष र प्रतिपक्ष हुन्छ । प्रतिपक्ष पनि कमजोर लुच्चो प्रवृत्तिको भए पनि सवल र सक्षम नेतृत्व हुन सक्दैन मात्र होइन, नेतृत्व तानाशाही समेत हुन्छ । पार्टीको विधान अनुसार महाअधिवेशन भएको एक वर्ष भित्रमा सबै विभागहरुले पूर्णता पाउनु पर्ने हुन्छ तर गत हप्तासम्म मनोनित गर्ने क्रम चलेको थियो । राम्रो सक्षम व्यक्ति नेतृत्व भन्दा बाहिर रहेकाले पनि पार्टीमा यस्तो प्रवृत्ति मौलायो । जसले पार्टीलाई बलियो भन्दा कमजोर बनाउदै लग्यो । यस्तो प्रवृत्ति अबका दिनमा सच्चिन नसके सिद्धिने नै हो ।

यस पटक स्थानीय निर्वाचन हँुदै छ फेरी नेतृत्व पुनरावृति भए स्थानीय निर्वााचनमा काँग्रेसको पत्तासाफ हुने निश्चित नै छ । फेरी हामीले भने जस्तो पनि हुँदैन । यहाँ वैदेशिक चल खेल राम्रोसँग हुन्छ । यसमा भारत अमेरिकाको चल खेल हुन्छ । यतिखेर केन्द्रिय नेतृत्वको विषयमा तलदेखि माथिसम्म वहस चलिरहँदा जिल्लामा पनि कसलाई कसको समर्थन कुन लाइनको हो भन्ने वहस भने भएकै छ । केन्द्रिय नेतृत्वमा नयाँ पुस्ता आउनु पर्दछ अनि मात्र पार्टी चलाएमान हुन्छ भन्ने नयाँ पुस्ताको माग हुनुलाई अस्वाभाविक मान्न र ठान्न हुँदैन । तर पुरानो पुस्ताले पनि त्यसै छाडिहाल्ने पनि छैनन् । शेरबहादुर देउवा , रामचन्द्र पौडेल , शेखर कोइराला , बिमलेन्द्र निधी , कृष्ण प्रसाद सिटौला , गोपालमान श्रेष्ठ जस्ता व्यक्तिको आम कार्यकर्ताले नाम लिने गरेका छन् । यस मध्य सबै भन्दा अलोकप्रिय नाम भनेको शेरबहादुर र रामन्द्रको नाम हो । यसको लेखाजोखा कार्यकर्ताले गरेका छन् । यसको प्रमुख कारण असक्षमता , सानो झुण्डमा रमाउने अनुदार प्रवृत्तिले हो पछिल्लो समयमा पुराना जसले संगठनलाई यो अवस्थासम्म ल्याउन कठोर मेहनत ग¥यो जसले जेल नेलको यातना भोग्यो त्यस्ता व्यक्ति अहिले पनि ओझेलमा छन् । त्यस्ता व्यक्तिको सम्मान गर्न पटक्कै नस्कदा र नयाँ नयाँ पुस्तालाई पार्टी पंक्तिमा समेटन नसक्नु भनेको पार्टीमा डनवाद हावी हुनु हो । अहिले तलदेखि माथिसम्म यहि नै भएको छ । यस्ता प्रवृत्तिका कारण पतनको बाटो उन्मुख भएको पनि हो ।

काँग्रेस विभाजन पनि भयो तर एकताको महाअधिवेशन हुन भने सकेन पार्टीमा गुटको राजनैतिक मौलाउदै गयो । यसको जिम्मेवारी केन्द्रिय तहका नेतृत्वले लिनु पर्दछ । १४ औं महाधिवेशनलाई जुझारु व्यक्तित्व भएको, अहिलेसम्म कुनै पनि कुराबाट खोट नलागेको व्यक्तिको छनोट गर्ने महाधिवेशन बनाउन सक्नु पर्ने हो । जसले गर्दा सबैको भावनाको प्रतिनिधित्व होस् त्यसैगरी आउने निर्वाचनमा हाम्रो भन्दा राम्रो मानिसले अवसर पाउनु पर्दछ भन्ने भावनालाई सम्मान गर्ने हुनु पर्दछ । यसले अनि मात्र हाम्रो काँग्रेस, राम्रो काँग्रेस बनाउनेमा दुई मत देखिदैन ।

(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update