Shittalpati
‘प्रदेश सरकारको जनताले अनुभूती गर्न थालेका छन्’

बुटवल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले जनताले प्रदेश सरकारको अनुभूती गर्न थालेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने गरी बन्न लागेको झरही खोला पुलको बुधबार शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारले योजनाका धेरै कामहरु अगाडि बढाएको र केही सकिसकेकाले जनताले प्रदेश सरकारले गरेका कामको प्रत्यक्ष अनुभूती गर्न थालेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको धारणा व्यक्त गरे ।

उनले भने, ‘छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूती गर्न थालेका छन्, जनताको सहयोगकै कारण यस्ता उपलब्धिमूलक काम गर्न सम्भव भएको छ, हाम्रा काम देखिन थालेको छ, हामी योजनावद्ध विकासका पक्षमा छौँ ।’ मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै पुल पनि पूर्वाधार विकासकै चरणअन्तर्गत रहेको बताए । उनले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी प्रदेश सरकार अगाडि बढेको बताउँदै पुनर्निर्माण भएपछि केही टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानीको उपलब्धता र दुई वर्षभित्र बिजुली पुर्‍याउने बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update