Shittalpati
धान दिवसको सार्थकता

असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ । कृषि प्रधान देश नेपाललाई कृषिमा चिनाउने उद्देश्यले धान दिवस मनाइदै आइएको छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएएको हो । हरेक वर्ष मनाइने धान दिवसले भने यसको सार्थकता कति पूरा हुन्छ त्यो आँकलन भने भएको देखिदैन ।
त्यसको सार्थकताको विषयमा न त बहस हुन्छ न त पुष्ट्याई नै गरिन्छ । सुझाव आउँछ अर्काे वर्षको अवस्था त्यहि नै देखिन्छ । कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिको भाषण कहिलै छुट्दैन । आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आयात गर्न पनि छुटेको छैन । कृषि प्रधान देशका नागरिकको हातमा अहिले कृषिभन्दा पनि पासपोर्ट मोह बढी देखिएको छ । तर कोरोना कहरले भने यो अवस्था आगामी दिनमा घटाउने विश्वास गर्न सकिन्छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । यहाँ धानखेती आकाशे सिंचाइमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष नेपालमा धानको उत्पादन घट्ने र वर्षा राम्रो भएको वर्ष धानको उत्पादन बढ्ने गरेको तथ्याङ्क छ । खाद्यान्नको प्रमुख बालीको रुपमा रहेको धान दिवस मनाउनु राम्रो कुरा हो । यद्यपि धान दिवसको बेला खेतमा टेक्दैमा दिवसले सार्थकता पाउँदैन । वास्तविक किसानले जब सम्म दिवसको महत्व बुज्दैनन् तबसम्म दिवस केवल मनोरञ्जनका लागि मात्र हुनेछ । वर्षभरी खेत नटेक्ने तर दिवसको बेला के के नै काम गरे जसरी हिलाम्य हुने प्रथाले समग्र दिवसलाई मनोरञ्जनको माध्यम बनाएको छ । आधुनिकताको प्रभावसँगै खेती गर्ने प्रथा हराउन थालेको छ । खेतीयोग्य जमिनमा प्लटिङ गरिएको छ । काम गरेर खाने जाँगर मरेको छ । किसानका लागि बेला–बेला दिने भनेका अनुदानहरु विचौलियाले स्वाम पारेको उदाहरण पनि प्रशस्तै छन् । धानबालीका लागि पर्याप्त पानीको सुविधा हुनुपर्छ । पहिले पहिले जेठ अन्तिम सातादेखि पर्न थालेको वर्षा भदौसम्म चल्थ्यो । तर अहिले त्यो स्थिती छैन । जसले गर्दा धानबालीलाई असर गरेको छ । तसर्थ प्रमुख खाद्यन्नबालीको रुपमा रहेको धानखेतीको उत्पादनमा वृद्धि हुने खालको सरकारले पनि योजना बनाउनुपर्छ । तब मात्र धान दिवसले सार्थकता पाउँनेछ ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update