Shittalpati
‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’

देशभरका स्थानीय सरकारले धामाधम आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेका छन् । अधिकांस स्थानीय सरकारहरुले कोभिड र चुनाव केन्द्रित बजेट सार्वजनिक गरेको पाइन्छ । केहीले भने पूर्वधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएका छन् । यसै सन्दर्भमा गुल्मीको स्थानीय तह रुरुक्षेत्र गाउँपालिकामा लक्ष्मीदेवी पन्थले उपप्रमुखको नेतृत्व समाल्दै आउनुभएको छ । इमान्दार, संघर्षशील र विकासप्रेमी जनप्रतिनिधिको रूपमा परिचय बनाउन सफल उपाध्यक्ष पन्थले रुरुक्षेत्र गाउँपालिकाको नेतृत्व सम्हालेको चारवर्ष पुगेको छ । वर्षौंदेखि अल्झिएका विकासका कामलाई निरन्तरता दिन उनी निकै नै क्रियाशील छिन् । आगामी नीति, कार्यक्रम तथा बजेट र प्राथमिकताका विषयमा केन्द्रित रहेर गाउँपालिका उपाध्यक्ष पन्तसँग नवजनचेतना दैनिकका गुल्मी संवाददाता रमेश विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश ।

१. आगामी आर्थिक वर्षका लागि कतिको बजेट ल्याउनुभयो ?

– हामीले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगार सडक निर्माण, सम्पदा निर्माण, युवा रोजगार, कोभिड रोग नियन्त्रण, विभिन्न सचेतना अभियान लगायतलाई विशेष प्राथमिकता राखेर ४८ करोड ५२ लाख ३४ हजार बजेट विनियोजन गरेका छौं ।

२.गाउँपालिकामा कसरी काम गर्नुभएको छ ?

– स्थानीय तहको निर्वाचन पछि हामी आए लगत्तै सबै कामहरुलाई प्रभावकारी रुपमा अगाडि बढाएका छौं । सबैको सहभागितामा हरेक विकास निर्माणका कामलाई अगाडि बढाएका छौं । जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समेतलाई सहभागी बनाएका छौं । बजेट छुट्याउनका लागि भएको सूचक अनुसार हामीले बजेट छुट्याएका छौं । जनताका आधारभूत आवश्यकताहरु के–के हुन् ? पहिले त्यो पुरा गर्ने भनेर हामी लागेका छौं । जनताका कामलाई व्यवस्थित गर्ने कार्यमा हामी सबै एक जुट भएर लागेका छौं । स्थानीय तहमा आएको पर्याप्त अधिकारलाई कार्यान्वयन गर्न तर्फ लागेका छौं । विकास निर्माणका कामहरुलाई विशेष प्राथमिकता दिएर काम गरेका छौं । विकास निर्माणको कार्यमा पारदर्शीता, गुणस्तर, दिगोपन र जवाफदेहीतालाई ख्याल गरेर सबैको सहकार्यमा काम गरेका छौं ।

३. माहामारी नियन्त्रण गर्न के कस्तो भूमिका निर्वाह गर्नु भएको छ ?

– कोभिड–१९ को माहामारीलाई नियन्त्रण गर्नको लागि स्वदेश तथा विदेशमा रहनुभएका युवाहरुले पनि सहयोग गर्नुभएको छ । संघीय सरकार, विभिन्न संघसंस्था राजनीतिक दलबाट पनि उत्तिकै सहयोग भएको छ । हामीले सुरुमै रिडिमा एउटा हेल्थ डेस्क स्थापना गर्‍यौं । त्यहाँबाट सचेतनामूलक कार्यक्रमहरु गरेर सबैको हात–हातमा पर्चा पम्पलेटहरु दिने काम गर्‍यौंं । हामीले ८ वेडको आइसोलेशन पनि बनाएका छौं । केही बिरामीलाई त्यहाँबाट निको पारेर घर पठायौं । केही बिरामीलाई अन्यत्र अस्पालमा डिस्चार्ज समेत गर्यौं । रिडी स्वास्थ्य केन्द्रबाट समेत नागरिकको सेवाका लागि राम्रो काम भएको छ । वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट पनि अहिलेसम्म राम्रो काम भएको छ । होम आइसोलेशनमा रहनुभएकालाई स्वास्थ्यकर्मीहरु मार्फत औषधि उपचार गर्ने, सल्लाह सुझाव दिने काम भैरहेको छ । अनि परीक्षणको काम पनि निरन्तर भएको छ ।

४. गाउँपालिका र प्रदेश बीचको सम्बन्ध कस्तो छ ?

– गाउँपालिका र प्रदेश सरकार बीचको सम्बन्ध सुमधुर छ । गाउँपालिकाले गर्न सक्ने कामहरु यहाँको स्रोत र साधनले सम्भव भएसम्मका विकास निर्माणका कामहरु हामीले गरेका छौं । यहाँबाट सम्भव हुन नसकेका विकास निर्माणका कामहरुलाई यहाँको बजेट तर्जुमा समितिले प्राथमिकिकरण गरेर प्रदेशमा पठाउने र प्रदेशबाट ती कामहरुलाई समर्थन गर्ने बजेट छुट्याउने गरेर काम गरेका छौं । गाउँपालिकामा नीति कार्यान्वयनमा र अन्य तालिमका कुराहरुमा पनि प्रदेश सरकाले हामीलाई सहयोग गरेको छ ।

५. अन्य स्थानीय तहसँगको सम्बन्ध कस्तो छ ?

– विशेष गरेर जिल्लाका अन्य स्थानीय तहसँगको समन्वय र सम्बन्ध राम्रो छ । हामी एक आपसमा मिलेर एकले अर्काले गरेका अनुभवहरु आदान–प्रदान गरेर काम गरेका छौं ।

६. नागरिकले संघीयताको महसुस गरेका छन् त ?

– हामीहरुको कामबाट नागरिकहरुले संघीयता आएको महसुस गर्नुभएको छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जस्तो एउटा संरचना गाउँपालिकामा पनि बनेको छ । त्यसमा हामीले न्यायको फाँटबाट पनि नागरिक सबैले न्याय पाउँनु भएको छ । विकासका अनुभूति पनि गर्न पाउँनु भएको छ । सरल र सहज ढङ्गबाट गाउँपालिका र वडाबाट पाउँने सेवा सुविधा सबै पाउँनु भएको छ । नागरिकहरुले घरदैलोमा सरकार भएको अनुभूति गर्नुभएको छ ।

७.कार्यसम्पादनको अवस्था कस्तो छ ?

– सिंहदरबारका सबै अधिकार स्थानीय तहमा आउँदा हामीलाई कार्यसम्पादनमा केही मात्रामा सहज भएको छ । भौतिक संरचनाको कमि हुनु,स्थानीय तहमा पर्याप्त कर्मचारी नहुनु, सम्बन्धित विज्ञहरुको कमी भए पनि पनि हामीले जनताका समस्यालाई सजिलै बुझ्न सक्छौं ।

 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update