Shittalpati
पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा सम्पन्न भएको छ भने १७ औं अधिवेशन शुरु भएको छ । सभाको नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष हेमराज ढकालले शुभारम्भ गरेका हुन् ।

 सभाको उद्घाटन गर्दै महासंघका उपाध्यक्ष ढकालले निजी क्षेत्रको योगदान विना नेपालको विकास सम्भाव नहुने बताएका छन् । हरेक राजनीतिक आन्दोलनको नाममा निजी क्षेत्रका व्यवसायीहरु शिकार बन्ने गरेको बताउँदै महाघका उपाध्यक्ष ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबाट निजी क्षेत्र तहस नहस भएको, देशका अधिकाश स्थानका नाम चलेका व्यवसायहरु खरानीमा परिणत भएकाले निजी क्षेत्रको मनोबल कमजोर भएको बताए । निजी क्षेत्रहरुलाई माथि उठाउन सरकारले ठोस कदम चाल्नु पर्नेमा उपाध्यक्ष ढकालले जोड दिए । साधारणसभामा सरकारले स्वदेशी व्यवसायीहरुलाई विश्वासमा लिन नसकेमा देशको स्थिति अझै विग्रदै जाने उद्योग व्यवसायीहरुले जोड दिएका छन् । पछिल्लो राजनितिक घटना क्रममा भएको आगजनी लुटपाटका घटनाले नेपाली व्यवसायीहरुलाई चिन्तित बनाएको र नेपालको लगानी बन्द गरेर विदेशीने खतरा बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । सरकारले आगजनी लुटपाटमा संलग्नहरुलाई पक्राउ गरी कानुनी कारवाही नभएमा नेपालका सबै व्यसायी पलायमान हुने अवस्था बढ्दै गएको उद्योगी व्यबसायीहरुले बताएका छन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, संविधान सभा सदस्य नारायणी शर्मा, पूर्व उधोगमन्त्री सोम प्रसाद पाण्डे, प्रदेशसभा सदस्य विर बहादुर राना, पुर्व सांसद यादव बहादुर रायमाझी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन प्रसाद श्रेष्ठ, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, नेपाली काँग्रेस पाल्पाका उपसभापती झपेन्द्र गहिरे, नेकपा एमालेका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवादी केन्द्रका इन्चार्ज नेत्र पाण्डे, राष्ट्रिय स्वतन्त्रपार्टीका कार्यवाहक अध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँर, नेकपा एकिकृत समाजवादीका अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चाकी सह–सचिव नर्मती सिंजाली, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पाल्पा व्यापार संघका महासचिव तुलबहादुर अधिकारी लगायतले साधारण सभाको सफलताको कामना गर्दै पाल्पालाई चलायमान बनाउन नयाँ किसिमका उद्योग व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने, पर्यटन क्षेत्र केन्द्रित व्यवसाय तथा पुर्वाधारका कामहरु बढाउनु पर्ने विषयमा जोड दिएका थिए । साधारण सभामा महासचिव समिरमान सिंहले संघको बार्षिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा विभिन्न अक्षयकोषदाता तथा विभिन्न छात्रबृत्ति प्राप्तकर्ताहरुलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षतामा भएको साधारणसभाको सञ्चालन महासचिव समिरमान सिंहले गरेका थिए । १७ औ अधिवेशनबाटसंघमा नयाँ नेतृत्व चयन हुने छ ।

 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update