Shittalpati
समयमै मल देऊ

असार महिना धान खेती गर्ने बेला हो । अहिले देशका अधिकांस स्थानमा धान रोपाई भइसकेको छ भने केही स्थानमा हुँदै छ । धान खेतीको सुरुआतमा र गोड्ने समयमा मल आवश्यक पर्छ । तर किसानले समयमै मल पाउन सकेका छैनन् । यो समयस्या अहिलेको मात्र होइन वर्षौदेखिको हो । अहिले पनि यो समस्याले निरन्तरता पाउने देखिएको छ । सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष पनि देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाउने देखिएको हो ।
कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान गत वर्ष देखि कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन् । गत वर्ष कृषि सामग्री र साल्टले कोरोना (कोभिड – १९) भाइरसको संक्रमण र लकडाउनका कारण समयमा युरिया मल आपूर्ति नहुँदा किसानले युरिया मलका लागि सास्ती व्यहोर्नुपर्ने बताएको थियो । अहिले पनि त्यस्तै अवस्था सिर्जना हुने देखिन्छ । किसानले चाहेको समयमा रासायनिक मल कहिले पर्याप्त पाएका छैनन् । वर्षेनी मल अभावका समाचारहरु आउँने गर्दछन् । यो वर्ष पनि धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको देशभर अभाव हुँदा किसान पिरोलिएका छन् । चाहिने समयमा मल अभाव हुने विषय नेपालमा नौलो भने होइन । नेपालमै उत्पादन नहुने भएकाले यसको आयातमा बाहिरी मुलुकको भर पर्नुपर्छ । अहिले धान रोप्ने समय भएकाले अरू रासायनिक मल डीएपी र पोटासभन्दा युरिया मलको माग उच्च छ । बन्दाबन्दी अघिसम्म मौज्दात रहेको युरिया मल चैते धान र मकै बालीमा प्रयोग भइसकेको छ । थप मल आयात नहुँदा किसानले दुःख पाएका छन् । अहिले मल चाहिने समय सुरु हुँदा बल्ल सरकारले मल उपलब्ध गराउने विषयमा भारत सरकारसँग पहल गर्दैछ । जे जस्तो अवस्था भए पनि सरकारले किसानलाई कुनै पनि बाहानामा मल अभाव हुन दिनुहुँदैन । ग्लोबल टेन्डरबाट मल ल्याउन समय लाग्ने भए यसको विकल्प खोजेर चाँडो मल उपलब्ध गराउन सरकार गम्भीर बनोस् ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update