Shittalpati
विपत् व्यवस्थापनमा गम्भीर बन्

विपत् भनेको कुनै पनि गैर प्राकृतिक र प्राकृतिक कारणहरूबाट अकस्मात, अस्तव्यस्त तवरबाट देखा पर्ने विपत्तिपूर्ण अवस्था हो । कुनै स्थानमा आपत्कालीन अवस्थाको सिर्जना भई जन र धनको क्षतिका साथै जीवनयापनका क्रियाकलापहरु र वातावरणमा प्रतिकुल असर पार्ने प्रकोपजन्य अवस्थाको उपस्थितिलाई हामी सामन्यतया विपत् भन्ने गछौं । प्राकृतिक विपत्ति नेपालका लागि एक नियमित नियति हो ।
यहाँ बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलह र आदि प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पु¥याएर जान्छन् । यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपत् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नबस्नु जिम्मेवार निकायहरुको गैरजिम्मेवारीपना हो । यस्ता प्राकृतिक विपत्ती आकस्मिकता भए पनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपिच्छे एउटै समस्याबाट हामी पीडित भइरहेका छौं । यो वर्ष पनि मनसुन सुरु हुनासाथ विपद् पनि सुरु भएको छ । दैनिक बाढी, पहिरोबाट ज्यान गुमाउने र विस्थापित हुनेको संख्या थपिँदैछ । कोरोनामहामारीले थलिएका नागरिकलाई पुनः वर्षात्सँगै सुरु भएको प्राकृतिक विपत्ले त्रसित बनाएको छ । जेठको अन्तिम साताबाट असोजसम्म नेपालमा बाढी पहिरोको उच्च जोखिम मानिन्छ । यो समयमा सचेत नबन्दा र विपत्बाट जोगिने उपाय समयमा अवलम्बन नगर्दा वर्षेनी उस्तै प्रकृतिका घटना र त्यस्तै क्षति भोग्नु परेको छ । विपत् व्यवस्थापनका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनेका छन् । तर ति संयन्त्र निस्क्रिय देखिन्छन् । विपत् व्यवस्थापनको सन्दर्भमा स्थानीय तहमा देखापर्ने प्रमुख चुनौतीको रूपमा बजेट व्यवस्थापन नै हो । स्थानीय सरकारले विपत् व्यवस्थापनको क्षेत्रमा आवश्यक बजेट व्यवस्था गर्न नसकेको देखिन्छ । त्यसैगरी विपत्को समयमा आश्यक पर्ने तालिमप्राप्त दक्ष जनशक्ति र उपकरणहरूको अभाव रहेको छ । आवश्यक परेको समयमा एम्बुलेन्स, वारुणयन्त्र जस्ता साधनहरू उपलब्ध हुन सक्दैनन् । जसले गर्दा ठूलो क्षति बेहोर्नुपर्दछ । स्थानीय सरकार लगायत तीनै तहका सरकारले विपत् व्यवस्थापनमा पर्याप्त मात्रमा बजेट विनियोजन गरी त्यसलाई सही ठाउँमा उपयुक्त समयमा खर्च गर्दै योजना कार्यान्वयन गर्ने दिशामा ध्यान दिनुपर्दछ । बनाएका संयन्त्रलाई वर्षात्को समयमा मात्रै नभई बाह्रै महिना सक्रिय बनाउनुपर्छ । यसर्थ विपत्बाट हुने क्षति कम गर्न तीनै तहका सरकार गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update