Shittalpati
पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुको जोड

पाल्पा, पत्रिका वर्गीकरण नीतिगत हुनुपर्नेमा पाल्पाका सम्पादकहरुले जोड दिएका छन् । शनिबार तानसेनमा प्रेस काउन्सिलका प्रतिनिधिसँगको छलफलमा जिल्लाका छापा मिडियामा आवद्ध सम्पादकहरूले पत्रिकाको वर्गीकरण नीतिगत रुपमा हुनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले राजनीतिक आस्था र पहुँचका आधारमा पत्रिका वर्गिकरण हुँदै आएको भन्दै त्यसलाई नीतिगत रुपमा वर्गीकरण गर्न प्रेस काउन्सिललाई आग्रह गरेका छन् । छलफलमा पाल्पा टाइम्सका सम्पादक झपेन्द्र गहिरेले प्रेस काउन्सिल स्वतन्त्र हुन नसकेको र सत्तापक्षबाट प्रेरित हुन पुग्दा पत्रिका वर्गीकरणमा समस्या आएको बताए । उनले राजनीतिक आस्था र पहुँचका आधारमा पत्रिकाहरु वर्गीकरणमा पर्ने गरेको भन्दै आपत्ति जनाएका छन् । सम्पादक गहिरेले पत्रिकाहरुले मापदण्ड पुरा गरे पनि सोही अनुसार वर्गीकरणमा पर्न नसकेको बताए । उनले भने‘सत्ता र शक्तिकै आडमा पत्रिकाहरु वर्गीकरणमा पर्नु दुखद् हो, मोफसलमा रहेर प्रकाशित हुँदै आएका पत्रिकाहरुको वर्गीकरणमा विभेद गर्नु हुँदैन । यसमा नीतिगत रुपमा काउन्सिलले मुल्याङ्कन गर्नुपर्छ ।’

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष तथा नवसंवाद साप्ताहिका सम्पादक रिखीराम राना, करुवा अर्ध साप्ताहिका सम्पादक कृष्ण कार्की, समाचार पत्रका सम्पादक यज्ञमूर्ति तिमिल्सीना, गाउँले देउरालीका झपेन्द्र देवकोटा, परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराई, मुक्ति न्यौपाने, दयाराज न्यौपाने लगायतले पत्रिकाको वर्गीकरण नीतिगत रुपमा हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले जिल्लाको विज्ञापन जिल्लामै रहने नीति ल्याउनु पर्ने र समानुपातिक विज्ञापन नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा ध्यान दिन काउन्सिललाई आग्रह गरे । छलफलमा जिल्ल्लामा छापा मिडियाहरुले भोग्नु परेका समस्या र पीडाका विषयमा व्यापक छलफल भएको थियो । छलफलमा प्रेस काउन्सिलका प्रतिनिधिहरु ठाकुर बेल्वासे, जयप्रकाश त्रिपाठीले समानुपातिक विज्ञापन नीति, मिडीया प्रवद्र्धन र अनुगमनमा सहजीकरण गर्ने बताएका छन् । उनीहरुले सञ्चार रजिस्टारको कार्यालय प्रदेशमा ल्याउन पहल गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update