Shittalpati
अविरल वर्ष : उच्च सतर्कता अपनाउन पाल्पा प्रशासनको आग्रह

पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले अविरल वर्षा भइरहेकाले उच्च सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो । कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गर्दै जिल्लावासीहरुलाई मनसुन सक्रिय रहेकाले यसबाट हुन सक्ने सम्भावित घटनाबाट जोगिन सतर्क रहन आग्रह गरेको छ । बाढी पहिरोको उच्च जोखिम रहेकाले अनावश्यक काममा यात्रा नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ । उसले नदी किनार क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने हुँदा विशेष सतर्क रहन भनेको छ ।

प्रशासनले उच्च जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानममा स्थानान्तरण गर्न र विपद्का घटना भइहालेमा उद्दार र राहतका लागि आवश्यकता अनुसार समन्वय गर्न स्थानीय तह, संघ संस्था, सरकारी तथा गैरसरकारी निकायहरु, नागरिक समाज, राजनितिक दल तथा सञ्चार जगतलाई अपिल गरेको छ ।

पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन् । बगनासकाली गाउँपालिको केही क्षेत्र भएर कालिगण्डकी नदी बग्ने गरेको छ । यहाँ नदीको बाहव बढ्दै गएकाले पनि उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । जिल्लाका स–साना खोला, खहरेखोला तथा खोल्सीमासमेत बाढी आइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update