Shittalpati
बाढीको वितण्डा:  ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र रानीमहल र रुरु डुबानमा

रामचन्द्र रायमाझी

पाल्पा, लगातारको वर्षाका कारण पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका छन् । कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुँदा आसपास क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु डुबानमा परेका हुन् ।

बाढीका कारण कालीगण्डकी नदी तटमा रहेको ऐतिहासिक तथा प्रेमको प्रतिक र नेपालको ताजमहलको रुपमा परिचित रानीमहल क्षेत्र डुबानमा परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्र डुबानमा परेको हो । पानी सतह बढ्दै गएपछि यस क्षेत्रका आधा दर्जन रिसोर्ट तथा पसलका टहराहरु पूर्ण रुपमा डुबानमा परेका छन् । सदरमुकाम तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहल क्षेत्रमा नदी गहिरिएको र कटान गर्दै गएकाले त्यहाँ खतरा बढेको जनाइएको छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा वि.स. १९५४ सालमा रानीमहल निर्माण गरेका थिए । यहाँ देश तथा विदेशबाट मानिसहरु घुम्न आउने गर्दछन् ।

यस्तै पाल्पा र गुल्मीको संगमस्थल रिडीमा पनि अविरल वर्षासँगै रिडीखोला र कालीगण्डकी नदीमा जलसतह बढेपछि धार्मिक पर्यटकीय रूरूक्षेत्र डुबानमा परेको छ । रिडीखोलामा पानीको सतह बढेकाले तानसेन नगरपालिका १४ का ६ घर बिस्थापित भएका छन् । खोलाको बाहव बढेकाले किनारका ६ घरमा बाढी पसेपछि विस्थापित हुनुपरेको स्थानीय पत्रकार चुरामणी तिमिल्सीनाले बताए । उनका अनुसार बाढी पसेपछि अर्गली गाविसको साबिक वडा ९ ऋषिकेश मन्दिर परिसरका ४ घर र कुसेनीका २ घर बिस्थापित भएका छन् भने एक घर भत्किएको छ । विस्थापित परिवार आफ्न्त कहाँ आश्रय लिन पुगेका छन् । यो क्षेत्र बाढी पहिरोको अति जोखिममा रहेकाले तानसेन नगर सरकारले यस अघि नै वस्ती छोड्न आग्रह गरे पनि उनीहरुले मानेका थिएनन् ।

यस्तै रिडी गुल्मीको बसपार्कमाथि रहेको रिडी–खज्र्याङ सडकखण्डका १० घर पनि जोखिममा परेका छन् । रिडी खोलाले तटीय क्षेत्र कटान गरे पछि यहाँका घरहरु जोखिमका छन् । त्यहाँ माथिबाट पहिरो खसेको र खोलाले कटान गरेका कारण जोखिममा रहेको पत्रकार तिमिल्सीनाले जानकारी दिए । रूरूक्षेत्रमा निर्माण भइरहेको तीनमुखे पुल,कालीगण्डकी करिडोर, रिडीखोला तथा कालीगण्डकी तटबन्धमा पनि बाढीले क्षति पुर्‍याएको छ । तीनमुखे पुल निर्माणका लागि राखिएको कारोडौंको सामग्रीसमेत बगाएको बताइएको छ । नदीमा पानीको बाहव अझै पनि कायमै रहेकाले यस क्षेत्रका स्थानीयहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको स्थानीय पत्रकार तिमिल्सीनाले बताए । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाले पनि तीन दिनसम्म भारी वर्षा हुने भएकाले नदीमा जलसतह बढी बाढीको पूर्वानुमान गरेको छ । उसका अनुसार यति बेला बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update