Shittalpati
पाल्पामा फोन स्कुल सञ्चालन

पाल्पा, पाल्पाका विद्यालयहरुमा फोनबाटै बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन स्कुल सञ्चालन भएको हो । कोरोनाको कारण गत बैशाखदेखि विद्यालयहरु बन्द भएपछि बालबालिकाले कक्षा १ र २ मा नेपाली भाषामा सिक्नु पर्ने विषवस्तुलाई निरन्तरता दिन यो कार्यक्रम सञ्चालन गरिएको साझेदार संस्थाहरुले जनाएका छन् । यो कार्यक्रम अन्तर्गत भाषा शिक्षकहरुले कक्षा १ र २ मा पढ्ने बालबालिकाका अभिभावकलाई फोन गरी घरमा सिक्ने वातावरण व्यवस्थापन गर्न तथा अभिभावकले समेत पढाउन सहजीकरण गर्दछन्,भने विद्यार्थीसँग फोनबाटै अक्षर, मात्रा, शब्दभण्डार, पठनवेग र बोध अभ्यासका लागि क्रियाकलापलाई पढाउँदछन् । फोनबाटै, सिकाइमा कठिनाई झेलिरहेका क्रियाकलापहरुलाई सिक्न जोड दिइन्छ ।

साक्षरता कार्यक्रम लागू भएको पाल्पाका १८ विद्यालय प्रधानाध्यापक तथा भाषा शिक्षकहरुसँग परामर्श गरी फोन स्कुल कार्यक्रम शुरु गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेशराज पौडेलले फोन स्कुल कार्यक्रमले घर मै बालबालिकाले पढ्न लेख्न पाउने साथै सरकारले अघि सारेको वैकल्पिक सहजीकरणलाई टेवा पुगेको बताए । पद्म पव्लिक माध्यमिक विद्यालयका कक्षा १ का भाषा शिक्षक जमुना घिमिरेले बन्दाबन्दीमा पनि आफ्नो बालबालिकालाई फोन मार्फत सिकाउन पाउँदा आफूलाई निकै खुसी लागेको र आफूले फोन गर्दा अभिभावक पनि खुसी भएको बताईन् ।

फोन स्कुल कार्यक्रममार्फत बालबालिकाले घरैमा बसी आफ्नो शिक्षकसँग पढ्न पाउने अवसर प्रदान गर्ने साथै बालबालिका, अभिभावक र शिक्षकबीचको आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ यो कार्यक्रम अघि सारिएको रुम टु रिडका कार्यक्रम अधिकृत ओमकुमार श्रेष्ठले स्पष्ट पारे । उनले पाल्पा जिल्लाको विभिन्न रेडियोबाट प्रसारण भइरहेको रेडियो कार्यक्रम गुरुकुल सुनेर पनि बालबालिकाले सिक्न सक्ने बताए ।

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update