Shittalpati
नेपालमा ब्ल्याक फंगसको त्रास

कोरोना भाइरसको महामारी कायमै रहेका बेला नेपालमा फेरि अर्को रोग देखा परेको छ । ब्ल्याक फंगस अर्थात् कालो ढुसीको नामले चिनिने ‘म्युकोमाइकोसिस’ रोगले त्रास पैदा गराएको छ । नेपालमा यस रोगले ज्यानै लिन थालेपछि सर्वोत्र त्रास बढेको छ । अहिले कोरोना संक्रमितसँगै यस रोगका बिरामीहरु समेत बढ्न थालेका छन् । यस रोगले आँखा, नाकलगायत अनुहारमा गम्भीर हानि पु¥याउने र ज्यानैसमेत लिन सक्ने देखिएको छ । यस रोगबारे बेलैमा सतर्क रहन आवश्यक छ ।
यो रोग विशेषगरी कोरोना संक्रमित वा कोरोनाबाट ठीक भएका बिरामीहरूमा बढी देखिन थालेको स्वास्थ्यविद् बताउँछन् । सुरुवातका दिनहरुमा यो रोग डायबेटिजका बिरामीमा धेरै पाइएको छ । यसले आँखा, नाकमा असर पार्छ र आँखाको ज्योति हराउने, नाक बांगो हुनेजस्ता समस्या पनि देखिएको पाइएको छ । विज्ञका अनुसार यो रोग लाग्नुको मुख्य कारण स्टेरोइड औषधिको धेरै प्रयोग हो । अमेरिका र भारतमा कोरोनाबाट मुक्त भएकामा यस्तो संक्रमण धेरैमा देखिएको छ । अन्य देश हुँदै कोरोना भाइरस नेपालमा भित्रिएजसरी नयाँ रोगसमेत क्रमशः देखिन थालेका छन् । कोभिडका संक्रमित घट्दै जाँदा फैलदै गरेको कालो ढुसीले पुनः नागरिकलाई त्रसित बनाएको छ । नेपालमा यो रोगबाट ३ जनाको मृत्यु भैसकेको छ भने १० जनाभन्दा बढी यसबाट पीडित छन् । यो रोग लागेकामध्ये केहीको दृष्टिसमेत गुमेको पाइएको छ । त्यसैले बेलैमा उचित ध्यान दिइएन भने यसले गम्भीर क्षति पुर्‍याउन सक्ने तथ्यप्रति सबैले हेक्का राख्नुपर्छ । नयाँ रोगलाई नयाँ ढंगले तयारी गर्नुको अब विकल्प छैन । अवस्था गम्भीर नहुँदै उपचार हुन सक्यो भने यो रोग निको हुन सक्छ । ढिलो गरेमा कुनै अंगमा स्थायी क्षति हुने मात्र होइन, ज्यानै जाने पनि सम्भावना हुन्छ । तसर्थ यस रोग प्रति बेलैमा पूर्वतयारी र सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update