Shittalpati
सुरक्षाको प्रत्याभूति दिलाऊ

पछिल्ला केही दिन यता विरामीहरुकै स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि नै आक्रमण भएका घटनाहरु बाहिर आएका छन् । केही दिन अघि नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको घटना अहिले सर्वत्र छाएको छ । स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले चिकित्सक र नर्सहरुमाथि आक्रमण गरेका थिए । आक्रोशित आफन्तले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसियूकक्षमा तोडफोड गरे ।
बिरामीको उपचारमा खटिएका ति स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन दुई तले भवनको शौचालयबाट हाम फालेर ज्यान बचाउनु प¥यो । उनीहरुले बिरामी बचाउनका लागि हरसंभव प्रयास गरेकै थिए । गर्नु उनीहरूको धर्म नै हो । उपचार सेवामा खटिएका स्वास्थ्यकर्मीले सबै बिरामी बचाउन सक्दैनन् । प्रयास गर्नेमात्र हो । त्यसैले अस्पताल लगिएका सबै बिरामी शत प्रतिशत नै निको भइहाल्छन् भन्ने ठान्नु पनि मूर्खता हुन जान्छ । बिरामीको मृत्यु भए पनि भगवानका रुपमाप्रस्तुत भएका ति स्वास्थ्यकर्मीहरु माथि जुन रुपमा आक्रमण गरिएको थियो त्यो अत्यन्त दुःखद् हो । यस्तो हुनु हुदैन थियो । संकटको घडीमा गम्भीर स्वास्थ्य समस्या भोगिरहेका संक्रमितका लागि स्वास्थ्यकर्मीले साक्षात् भगवानकै रूपमा काम गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुको मनोवल गिराउने काम कोही कतैबाट पनि हुनु हुँदैन । दीर्घरोग लागेका र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका जुनसुकै उमेर समूहका व्यक्तिहरु संक्रमणको शिकार भएर ज्यान गुमाइरहेका छन् । स्वास्थ्यकर्मीले भरप्रयास गर्दा पनि ज्यान जोगाउन सकेका छैनन् । त्यसैले मृत्युको कारण स्वास्थ्यकर्मीको लापरवाही मात्रै हो भनेर कार्यस्थलमै तोडफोड गर्ने काम निन्दनीय छ । सीमित स्रोत र साधनबाट सञ्चालन भएका अस्पतालमा शैयाको व्यवस्था, अक्सिजन र औषधिको आपूर्ति हुन नसक्नु स्वास्थ्यकर्मीको दोष
होइन । यो सरकार र सम्बन्धित नियकायले प्रवन्ध गर्नुपर्ने विषय हो । सरकारकै अकर्मण्यता र कोरोना महाव्याधिको समयमा गर्नुपर्ने प्रतिकार्यमा ध्यान नदिँदा उपचार अभावमा धेरै बिरामीको ज्यान गएको दृष्टान्त घामझैँ छर्लंङ्ग छ । कोरोनाको जोखिमसँगै स्वास्थ्यकर्मीहरु कुटिने त्रासले बिरामीको उपचारमा खटिइरहेका छन् । यसरी कुनै पनि स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु अत्यन्त दुःखद् विषय हो । यसर्थ यस्तो महामारीका बेलामा स्वास्थ्यकर्मीको मनोवल उच्च बनाई सुरक्षाको प्रत्याभूति दिलाउने विषयमा सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update