Shittalpati
धुम्रपान रहित दिवसको औचित्य

आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस नेपालमा पनि मनाइँदैछ । धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ । विगतमा जनचेतनामूलक औपचारिक कार्यक्रमको आयोजना गरी नेपालमा दिवस मनाइने गरिए पनि यस वर्ष भने कोरोना महामारीका कारण दिवस अन्यौलमा रहेको छ ।

विश्वमा हरेक ८ सेकेण्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ । नेपालमा भने वर्सेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । चुरोट सुर्ती, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ । धुम्रपान र सुर्तिजन्य पदार्थ सेवन विश्वको लागि आज ठूलो चुनौती बनेको छ । कागजको पाना भित्र भरिएको सुर्तीको कसबाट निस्कने निकोटिनको यो लतबाट जोगाउन हरेक वर्ष मे ३१ तारिकका दिन धुम्रपान विरुद्धको दिवस मनाउन थालिएको हो । तर यसको समस्या थप चुनौती बन्दै गएकाले दिवसले खासै सार्थकता भने पाउन सकिरहेको छैन् । यस दिवसको उद्देश्य धुम्र अर्थात् धुवाँजन्य र सुर्तिजन्य वस्तुको उपभोगका कारणले स्वास्थ्यमा पर्ने हानिको बारेमा जनजागरण फैलाउनु हो । तर दिवस मनाइरहे पनि विश्वमा हरेक ८ सेकेण्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको तथ्यले भने दिवसको औचित्य माथि नै प्रश्न खडा गरेको छ ।

दिवसका नाममा करोडौं रुपैयाँ खर्चे पनि धुम्रपानका कारण मृत्युदर रोकिएको छैन । यसले पनि के प्रष्ट हुन्छ भने दिवस औपचारिकतामै सिमित देखिन्छ । दिवसका दिन सुर्तिजन्य पदार्थको सेवनका विषयमा जनचेतना जगाउनु आफैमा सकरात्मक भएपनि वर्षमा एक दिन मनाएको दिवसले केही अर्थ राख्दैन । दिवसका दिन मात्र कार्यक्रमको आयोजना गरेर सुर्तिजन्य पदार्थको सेवन नगर्ने प्रतिवद्धता जाहेर गर्ने र अर्को दिनबाट प्रकृतिले दिइएको सफा फोक्सो, स्वस्थ मुटु अनि सुन्दर भविष्यलाई चुरोटको धुवाँसंगै उडाउने कामले दिवसको कुनै औचित्य नै राख्दैन । तसर्थ सुर्तिजन्य पदार्थको सेवनले मुटु र फोक्सोमा समस्या उत्पन्न गर्ने भएकाले प्रत्येक दिनलाई सुर्तिरहित दिन बनाउन सक्यौं भने मात्र दिवस मनाउनुको औचित्य रहन सक्छ ।

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update