Shittalpati
गणतन्त्र दिवसको सार्थकता

हरेक वर्ष नेपालमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ । आजको यो दिन नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी र ऐतिहासिक दिन हो । यो नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट २४० वर्षे जहानिया शासनको अन्त्य गर्दै जनताको जीत भएको दिन । शाही राजतन्त्रको अन्त्य गरी मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलन पछि गठित संसदको ०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । ००७, ०३६, ०४६, १० वर्षे माओवादी विद्रोह अनि ०६२/६३ को ऐतिहासिक राजनीतिक आन्दोलनहरूको एकमुष्ठ उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र आएको हो ।
मुलुकमा जनताको शासन स्थापित भई राजाको स्थानमा जनताका छोराछोरी राष्ट्रपति र उपराष्ट्रपति बने । तर, दुर्भाग्य  मुलुकमा गणतन्त्र आए पनि व्यवहारमा शासकका मनोवृत्ति भने गणतान्त्रिक बन्न सकिरहेको छैन । लोकतन्त्रका सम्बाहक भनिएका हाम्रा प्रधानमन्त्रीबाटै लोकतन्त्र माथि प्रहार भइरहेको छ । प्रधामन्त्रीले एक पछि अर्को गर्दै संविधानको उलङ्घन गरेका छन् । गणतन्त्रका प्रतिक महामहिमबाट मध्यरातिमै प्रतिनिधिसभालाई विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएको छ । दुई, तीन महिनामा भएको अभ्यास यो पहिलो होइन । अदालतले कोमाबाट ब्युँताएको यो संस्था फेरि कोमातिरै फर्केको छ । राजनीतिकर्मीहरूलाई यो सामान्य लाग्ला तर निर्वाचनका मुख्य पात्र जनतालाई यो अर्को घाँडो भएको छ । कोरोनाले थिलो थिलो परेका बखत भटाभट मान्छे मर्दै गरेका कारुणिक अवस्थामा जनतालाई निर्वाचनले के उत्साह देला । यस्तो अलोकतान्त्रिक शैलिकाकारण गणतन्त्र नै संकटमा छ । जनस्तरमा महशुस हुने गरी गणतन्त्र फस्टाउन सकेको छैन । गणतन्त्र दिवस मनाउनु राम्रो कुरा हो । तर, गणतन्त्रलाई जनताको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अनुवाद गर्ने कुरा चानचुने छैन । लोकतान्त्रिक गणतन्त्रका १३ वर्ष बितिसकेका छन् । तर, परिवर्तनको अनुभूति जनताले गर्न पाएका छैनन् । गणतन्त्र दिवस मनाउँदैमा गणतान्त्रिक मन र मस्तिष्क हुँदैन, गणतान्त्रिक आदर्श हुन सक्दैन । आचरण र व्यवहार गणतान्त्रिक हुनुपर्छ । तर त्यसो हुन सकिरहेको छैन । राजनीतिक दलका नेता/सरकारहरूका क्रियाकलाप लोकतन्त्र र गणतन्त्र सुहाउँदा हुन सकेका छन् । कैंयौं स्वेच्छाचारी निर्णय गर्ने, जनताको हित र कल्याणभन्दा सत्तामूखी हुने प्रवृत्ति नै अझै हाबी छ । शासन व्यवस्था लोकतान्त्रिक छ । तर, राजनीतिक नेतृत्वको चरित्र लोकतान्त्रिक हुन सकेन यो अत्यन्त दुःखको कुरा हो । जबसम्म जनस्तरमा परिवर्तनको अनुभूति हुन सक्दैन, तबसम्म गणतन्त्र दिवस मनाउनुको कुनै सार्थकता हुँदैन ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update