
रामचन्द्र रायमाझी
पाल्पा,पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले पाल्पामा निषेधाज्ञा पुनः ९ दिन लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरेको जनाइएको छ ।
१५ गतेसम्म रहेको निषेधाज्ञाको समयलाई ९ दिन थप गरेर जेठ २४ गते राती १२ बजेसम्मलाई लम्वाइएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । निषेधाज्ञामा सबै खालका व्यपार व्यवसायहरु बन्द रहने छन्, यस्तै सार्वजनिक सवारी, सरकारी कार्यालय, बैैक तथा वित्तिय संस्था, शैक्षिक संस्था बन्द रहने भएका छन् । खाद्यान्न, तरकारी पसल विहान दिनको एक पटक खुल्ने भएका छन्, औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने जनाइएको छ ।
अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु यस अघि जस्तै दिनमा एक पटक विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चानलन गर्न दिइने छ । निषेधाज्ञा अवधिभर अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ ।
आदेश उल्लंघन गरेमा जरिवाना
जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवानासमेत गर्ने निर्णय भएको छ । अध्यादेश बमोजिम आदेश पालना नगर्ने व्यक्तिलाई एक लाख र संस्था भए ५ लाखसम्म तत्काल जरिवाना गरिने छ । आदेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय र मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लङ्घन गरेको पटकै पिच्छे २ सय रुपैया जरिवान लगाईने छ । त्यस्तै सवारी साधनको आवगमनमा रोक लगाइएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमती विना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा विरामी ओसार पसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा दुई पांग्रे सवारी भएर पटकै पिच्छे दुई हजार र अन्य सवारी साधन भए पटकै पिच्छे पाँच हजार तत्काल जरिवाना लगाईने छ ।