Shittalpati
निषेध आदेशको उल्लंघन


नेपालमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । यहाँ दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मृत्युको संख्या पनि घट्न सकेको छैन् । निषेधाज्ञाको अवधि थपिँदो छ । सरकारले यसलाई झन् कडा बनाउँदै लगेको छ । अक्सिन र भेन्टिलेटरको अभावमा संक्रमितहरूले पर्याप्त उपचार पाइरहेका छैनन् । फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतले आफ्नो र परिवारको भन्दा संक्रमितहरूको जीवनरक्षा गर्न ज्यान जोखिममा पारेका छन् । निषेधाज्ञा गराई नियम, कानुन बनाउने र पालना गराउने सरकार र दलहरू नै यस्तो बेला निषेधाज्ञाको धज्जी उडाउँदै हिँडेका छन् । यसको एउटा पछिल्लो उदाहरण हो सोमबार सर्वोच्च अदालतमा भएको दलका नेता, कार्यकर्ताको भीड । नेताहरूकै अगुवाइमा निषेधाज्ञाको उल्लंघन गर्दै हुल बाँधेर भेला, बैठक, विरोध प्रदर्शन र स्वागत कार्यक्रम गरिनु दुःखद् हो ।
संक्रमण नियन्त्रणको उत्तम विकल्प नै निषेधाज्ञा र लकडाउन हो । यसको सही समयमा गरेको सही पालनाले विश्वका धेरै देशले पहिलो चरणको महामारी नियन्त्रण गरेका छन् । अहिले नेपाल कोरोना संक्रमणको दोस्रो लहरको चपटामा छ । सामाजिक दूरी कायम नै नियन्त्रणको प्रमुख कारण भए पनि यसको पालना नहुँदा देशले ठूलो क्षति व्योहार्नु परिरहेको छ । सत्ता स्वार्थका लागि राजनितिक दलहरुले निषेधाज्ञाको पालना नगर्दा आम नागरिकले सास्ती भोग्नु परेको छ । नियम कानुन बनाउने व्यक्तिहरुले नै निषेधाज्ञाको उलङ्घन गर्नु दुःखद् हो । नियम र कानुनको आँखामा सबै बराबर हुन् । कानुन कसैलाई कम र कसैलाई धेरै भन्ने हुँदैन । यसर्थ महामारी नियन्त्रणका लागि जारी गरिएको नियम कानुन सबैले पालना गर्नुपर्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update