Shittalpati
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–७’)

शालिकराम पाण्डे ‘शिला’
१८ चैत्र २०७६ (मंगलबार)
बिहान चाडै निद्राले छोड्न थालेको छ । आलस्य पनि छैन । उठ्ने बित्तिकै नुहाई धुवाई तिर लाग्छु । बिहान केही बेर घाम ताप्ने कामलाई अभ्यस्त बनाउने प्रयासमा छु । बिहानको कलिलो घाम ताप्दा राम्रो हुन्छ । आज पनि मन गहिरेका मनका कथाहरु पढें । घरबेटी पुनारामजीबाट केही किताबहरु हात लागेका छन् । हिन्दी उपन्यासहरु र अरु पनि । मधुपर्कको यौन कथा विशेषाड्ढ पनि त्यस ैभित्र मिसिएर आएको छ । रुची अनुसारको किताव हात लाग्यो । अरु किताव त पढ्छु पढ्दिन थाहा छैन तर यो त पढ्ने नै भए । आकाश हेरें । सधैंको जस्तो । घाम उस्तै र जुन उस्तै । रात पछि दिन र दिन पछि रात उस्तै । उही चक्र । धरती र डाँडाकाँडाहरु उस्तै छन् । कतै केही फरक छैन । प्रकृति स्वभाविक गतिमा अघि बढेको छ । तर अहिले मान्छेका गति रोकिएका छन् ।

संसारमा सन्नाटा छाएको छ । उद्योग धन्दा, ब्यवसाय, ब्यापार, जागीर धन्दा र अरु शैक्षणिक गतिविधिहरु सारा ठप्प भएका छन् । जमीन थर्काउँदै गुड्ने गाडी मात्र होइन, आकाश थर्काउँदै उड्ने हवाइ जहाजहरु पनि रोकिएका छन् । संसार हल्लाउने अमेरिका कोरोना भाईरसका कारण आंफै हल्लिरहेको छ । खोई, के पो हुँदो रहेछ र सम्पन्नताले पनि । रोगले गाँजे पछि सबै उस्तै । मलाई त बनमाली सरको ‘बाढी’ कथाको याद आयो । तराईको महाजन । उसको घरमा बस्ने हलिया । सम्पत्तिको उन्माद्ले हलियाको स्वास्नी पनि नछोड्ने महाजन र हलिया दुवै बाढी आएको बेला परिवारविहिन् बन्छन् । उनीहरुलाई अरु बाढीपीडित सरह गाउँको स्कूलमा ल्याइन्छ ।
श्री सम्पत्ति सारा गुमाएको महाजन र उसको घरमा बस्ने हलिया हेलीकोप्टरबाट फाल्दै गरेको चाउचाउका लागि अरु मान्छेहरुसँगै दौडादौड गर्छन् । बाढी आउनु अघिको महाजन र हलियाको वर्गीय भेद र बाढीपछिको समानता ¤ यही रहेछ देशका गति पनि । आज अफिसमा सामान्य अवस्थामा भन्दा बढी ब्यस्त भईयो । केही अफिसियल कामहरु पनि गरियो । आज बेस नेपालको इतिहासमा पहिलोपटक सिनियर स्टाफहरुसँग भिडियो बैठक सम्पन्न भयो । बेस नेपालमा अहिले १०५ जना कर्मचारीहरु कार्यरत छन् । तिनको अवस्था, घरमै बसेर गर्ने कामहरुको पहिचान तथा अन्य संस्थागत कामकारवाहीका विषयमा राम्रो छलफल भयो । बेस नेपालले पुस्तक अध्ययनलाई संस्थागत संष्कृतिको रुपमा ग्रहण गरेको सन्दर्भमा यो अवस्थामा सबै कर्मचारीहरुलाई पुस्तक अध्ययनका लागि प्रेरित गर्ने निर्णय पनि भयो । भोलि बोर्डको बैठक गर्ने सहमति भएको छ । बैठकका एजेन्डाहरु तयार गरें । जुम एप्समा भिडियो गर्ने छलफल भए अनुसार अध्यक्ष छविलाल सुवेदीजीसँग र अरु साथीहरुलाई समेत समावेश गरेर अभ्यास गरियो । यसको फरक सुविधाहरु रहेछन् । भिज्युवल राम्रो मात्रै होइन, आफ्नो कम्प्युटरमा भएका सामग्रीहरु अरुलाई देखाउन मिल्ने रहेछ । थकानले होला, खानपान पछि आज अलि चाँडै सुतियो ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update