
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माथागढीका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १४ गतेबाट पूर्णतः बन्द गरिएका छन् ।
कोभिड–१९ को अवस्था भयावह बन्दै गएपछि रोकिएका कक्षा ९ सम्मको वार्षिक परीक्षा भौतिक तरिकाले सञ्चालन गर्न सकिने अवस्था नरहेपछि गाउँपालिकाले वैकल्पिक माध्यम अवलम्बन गरी यही जेठ २५ गते वार्षिक परीक्षाफल प्रकाशित गर्ने तयारी थालेको छ । गाउँपालिकाको निर्देशनअनुसार कक्षा ९ सम्मको वार्षिक परीक्षा वैशाख १२ गतेबाट सुरू भएकोमा कोरोना महामारी बढेपछि वैशाख १४ गतेबाटै रोकिएको थियो ।
हालसम्म कोरोना महामारीको संक्रमण यथावत् रहेकोले विद्यार्थी भौतिक रूपमा विद्यालयमा गएर परीक्षा दिन सक्ने अवस्था नरहेको भन्दै गाउँ शिक्षा समितिले वैकल्पिक माध्यबाट परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षा तथा शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षतामा बसेको भर्चुअल बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बैकिल्पक माध्यम अपनाएर विद्यार्थीहरुको नतिजा सार्वजनिक गर्न आग्रह गरेको छ ।
आधारभूत तह कक्षा–५ र ८ को वार्षिक परीक्षाको मूल्यांकन दोस्रो त्रैमासिक परीक्षाबाट, ३५ प्रतिशत, तेस्रो त्रैमासिकबाट ३५ प्रतिशत र निरन्तर मूल्यांकन विधिबाट ३० प्रतिशत गरि १०० प्रतिशत अंक राखेर परीक्षाफलको मापदण्ड निर्धारण गरिएको छ । सोही मापदण्ड अनुसार परीक्षाफल प्रकाशित गर्ने गरी तयारी अगाडि बढाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक अशेष भट्टराईले बताए । शिक्षा समितिको बैंठकले विद्यालयहरुलाई लिखित र प्रयोगात्मकको अंक गतवर्षको फरम्याटलाई अधार मानेर जन्म दर्ता अनुसारको नाम, जन्ममिती, बुवा र आमाको नाम सहित मिति २०७८/०२/१८ भित्र गाउँपालिकाको कार्यालयमा हार्डकपी वा विधुतीय माध्यमबाट सफ्ट कपि पठाउने व्यवस्था मिलाउन सूचित गरेको छ । उक्त विवरण अनुसार गाउँपालिकाले जेठ २५ गते नतिजा प्रकाशित गर्ने शिक्षा संयोजक भट्टराईले बताए । उनका अनुसार कक्षा ५ र ८ बाहेकका अन्य कक्षाको वार्षिक परीक्षाको मूल्यांकन पनि सोही अनुरुप नै हुने छ । बैशाख १२ र १३ गते सञ्चालन गरिएका विषयगत परीक्षाको अंक ३० प्रतिशत मूल्यांकनका लागि प्रयोग गर्ने र अन्य विषयको हकमा ३० प्रतिशत निरन्तर मूल्यांकन विधीबाट अंक कायम गरिने संयोजक भट्टराईले बताए । नयाँ शैक्षिकसत्र २०७८ असार १ बाट सुरु हुने भएकाले भर्चुअल(अनलाइन) वा अन्य कुनै उपयुक्त माध्यम अपनाई अन्य कक्षाको पनि जेठ २५ भित्र नतिजा प्रकाशित गरिने जनाइएको छ ।