Shittalpati
कोरोना प्रभाव : बुद्ध जयन्तीमा सुनसान लुम्बिनी

निरा गौतम (रासस)
लुम्बिनी, हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडि देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो ।
बौद्ध उपासक उपासिका, भिक्षु भिक्षुणी पनि उत्साहित हुन्थे । बुद्ध जयन्ती मनाउन कोष क्षेभित्रका बौद्ध गुम्बा तथा बिहार सजाएर आकर्षक बनाइन्थ्यो । आन्तरिक तथा बाÞय पर्यटकले यो पवित्र दिनमा लुम्बिनी घुम्न जाने योजना बनाउँथे । विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरु बुद्ध जयन्ती समारोहमा सरिक हुन लुम्बिनी आउँथे । लुम्बिनीका व्यवसायीमा छुट्टै खालको उत्साह हुन्थ्यो । बुद्ध जयन्तीमा लुम्बिनी आउने पाहुनालाई स्वागत गर्न आ–आफ्ना व्यवसाय सजाएर चिटिक्क पार्थे र श्रद्धालुलाई स्वागतका लागि तम्तयार भएर बस्थे । स्थानीय युवाहरु पनि आफ्नो संस्कृति झल्कने प्रस्तुतिका लागि पूर्व तयारी गर्थे तर, अहिले त्यस्तो छैन ।

कोरोना भाइरस महामारीका कारण लुम्बिनी सुनसान छ । गत वर्ष पहिलो चरणको कोरोना भाइरस महामारी कम भएपछि केही दिन खुलेको बुद्ध जन्मस्थल दोस्रो चरणको महामारी शुरु भएपछि फेरी बन्द छ । मायादेवी मन्दिरसहित विकास कोष भित्रका बिहारहरु पनि बन्द छन् । कोष बाहिरका होटल तथा व्यवसाय पनि बन्द छन् । कोरोना सक्रमणले गर्दा बुद्ध जयन्ती नजिकिए पनि विकास कोषका पदाधीकारी र कर्मचारीमा कुनै उत्साह छैन । पर्यटन व्यवसायी तथा स्थानीय पनि खुसी छैनन् । कोरोनाकै कारण गत वर्ष पनि बुद्ध जयन्ती मनाइएको थिएन । कोरोनाले गर्दा यस पटक पनि बुद्धजयन्ती खल्लो हुने भएको छ । यस पटक बुद्ध जयन्तीमा लुम्बिनीस्थित विहार, र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा सामान्य पूजाआजा र दीप प्रज्वलन गर्ने योजना विकास कोषले बनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय जगत नै शोकमा भएका कारण बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने अवस्था नभएकाले दीप प्रज्वलन र वृक्षरोपण गर्ने योजना बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाइ छ । ‘बाहिरबाट भिडभाड हुँदैन, मायादेवी मन्दिरमा शान्ति प्रार्थना हुन्छ । कोरोना सङक्रमणबाट ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै प्रार्थना गर्छौ र त्यसलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र भर्चुअल माधयमबाट जोड्ने काम हुनेछ ।’ उपाध्यक्ष मेत्तेयले भने । सोही क्रममा विभिन्न देशका प्रमुख तथा प्रतिनिधिले पठाएका सन्देश वाचन गरिने उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे पूजा र प्रार्थना गरिने विकास कोषका सदस्य सचिव सानुराजा शाक्य बताउन्छन् । ‘जताततै कोरोना महामारीको त्रास छ ।यस्तो अवस्थामा कार्यक्रम गर्ने कुरा भएन, कोष भित्रका भिक्षु भिक्षुणी, गुरुआमाको सहभागितामा सामान्य पूजाआजाको योजना बनाएका हौैँ’, सदस्य सचिव शाक्यले भने । शान्तिका अनुयायी बुद्धको जन्मदिनमा जन्मस्थलमै पूजाआजा नगर्दा नराम्रो सन्देश जाने भएकाले कोषले यस्तो योजना बनाएको जनाएको छ ।
बुद्ध जयन्तीमा साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा २५६५ औँ दीप प्रज्वलन गरिने छ । विश्व जगतमा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा स·हित छन् । सम्राट् अशोकले ईपू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राÞमी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ । ‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । यसपटक यही जेठ १२ गते २५६५ औँ बुद्ध जयन्ती मनाइँदै छ । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गरेको भिक्षु सागर धम्म बताउन्छन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्याागेर ज्ञानको खोजीमा लागेका थिए ।

छ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिनुभएको थियो जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ । बुद्धले चार आर्य सत्य, आर्य अष्टाङ्गकि मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिनुभएको छ । चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ । ‘बुद्ध शिक्षाको प्रमुख आधार दुःख र दुःख मुक्ति हो, यही चार आर्यसत्य नै बुद्धका मूल उपदेशहरु हुन्,’ भिक्षु धम्मले भने । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update