Shittalpati
बजार अनुगमन गर

बन्दाबन्दीको मौका छोपेर बजारमा अत्यावश्यक वस्तुको मूल्य बढाइएको छ । बिहान–बेलुकीको छाक टार्ने चिन्ताले पीडित बनेका हुँदाखाने वर्गका लागि आकाशिँदो बजार भाउले थप समस्यामा पारेको छ । तर, नियमनकारी निकायको कमजोरीका कारण निमुखा जनता नै महँगी र बजार भाउको मारमा पर्ने गरेका छन् । बन्दाबन्दीको बहानामा अनावश्यक मूल्य वृद्धि, खाद्यान्नको कृत्रिम अभाव र कालोबजारी नियन्त्रणमा बजार अनुगमनको अहम् भूमिका रहन्छ । तर पाल्पा लगायत अधिकांस जिल्लाहरुमा बजार अनुगमन गरिएको छैन ।
यस्तो संकटको बेलामा सम्बन्धित निकाय बढी सचेत तथा सजग रहनु आवश्यक हुन्छ । पछिल्ला समय बजारमा संकटको बेला फाइदा लिने तत्वहरू बढी नै सलबलाएको देखिन्छ । यस्ता तत्वहरू सलबलाउन लागेको कारण सरकारले सजगतापूर्वक गलत तत्वलाई पहिचान गरी तत्काल कारवाही गर्न आवश्यक छ । संकटको यस घडीमा निजी क्षेत्र र सरकार हातेमालो गरेर नै बजारमा यस्ता अवाञ्छित गतिविधि रोक्न तथा नागरिकलाई सेवा प्रवाहमा चुस्तता दिन सकिन्छ । व्यापारीको काम व्यापार गरेर नाफा कमाउनुमात्रै होइन, ग्राहकको सेवा र सन्तुष्टिबारे चासो राख्नु पनि हो । परम्परागतरुपमा व्यापार गर्नेहरु आफ्नो व्यवसायको साखप्रति ध्यान दिएका हुन्छन् । धेरै नाफा होइन, ग्राहकलाई गुणस्तरीय सामान बेच्न लालायित हुन्छन् । तर, पछिल्लो समय व्यापारमा साख होइन, मार्जिन धेरै चाहिएको हुन्छ । ग्राहकको स्वास्थ्यसँग होइन, नाफा कमाउनुसँग सरोकार रहेको हुन्छ । यस्तो बेलामा पहिलेदेखि बिक्री नभएका, म्याद नाघेका र कमसल सामग्री कटाउने अवसरका रुपमा लिने र दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरी महँगोमा बेच्ने प्रवृत्ति यथावत् रहेकाले पनि नियमित अनुगमनको खाँचो देखिएको हो । तसर्थ नियमित बजार अनुगमन गरी यदि कसैले कृत्रिम अभाव खडा गरी अनावश्यक मूल्य वृद्धि गर्छ भने यस्तालाई दण्ड तथा जरिवाना गर्न ढिलाई गर्नु हुदैँन ।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update