Shittalpati
राहतका कार्यक्रम ल्याऊ

पहिलो लहरको कोरोना महामारीबाट थिलो–थिलो परेको नेपालको अर्थतन्त्र उठ्न नपाउदै पुनः प्रभावित भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै अवस्था पनि भयावह बन्दै गएको छ । संक्रमणको मात्रा बढ्दै जाँदा महामारीबाट मृत्यु हुनेक्रम पनि बढ्दो छ । यसले सबैलाई चिन्तित र सतर्क दुवै गराएको छ । अर्कोतिर महामारी रोकथामका लागि वैशाख दोस्रो हप्तादेखि लगभग देशभर नै निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण उत्पन्न समस्या पनि विकराल बन्दै जान थालेका छन् । उद्योगधन्दा कलकारखाना बन्दको अवस्थामा रहेकाले संगठित तथा असंगठित मजदुर बेरोजगारीको पहिलो मारमा परेका छन् ।
उनीहरूका लागि रोजीरोटीको समस्या ठूलो बनेर देखापरिसकेको छ । अन्य संघ÷संस्था तथा संगठनमा काम गर्नेका लागि पनि दैनिक गुजाराको समस्या बन्दै छ । दिनमा काम नगरे साँझ–बिहान छाक टार्नै धौधौ हुने उनीहरूलाई रोगसँगै खानाको चिन्ताले पुनः सताउन थालेको छ । विपन्न परिवारलाई भाइरस, भय र भोकले एकैपटक थिचेको छ । मानिसलाई सबैभन्दा बढी डर भनेकै रोग र भोकको हो । रोगले निम्त्याएको शोकमा डुबिरहेका बेला थपिँदो निषेधाज्ञा र बढ्दो संक्रमणले भोकमरीको चिन्ता पनि बढाएको छ । कोरोना संक्रमणको पहिलो लहर सुरु हुँदा गरिएको लकडाउनमा दैनिक राहत दिने क्रम उच्च थियो । चरण चरणमा तीन तहका सरकारसँगै संघसंस्था, व्यवसायी, दाता र व्यक्तिले मजदुरको पेट भर्ने काम गरे । दैनिक परिवार संख्या हेरेर दिइने राहतले वास्तविक पीडितलाई कामविहीन दैनिकी गुजार्न केही हदसम्म सहज भएको थियो । तर अहिले समय फरक छ । महामारीको दोस्रो चरणमा कोरोनाको कडा ‘भेरियन्ट’ आउँदा सबैको ध्यान मृत्युबाट जोगाउन÷जोगिनमा छ । अस्पतालमा बेड र अक्सिजन नपाएर धेरैले ज्यान गुमाईसकेका छन् । यस्तो अवस्थामा भोक र रोग दुवैबाट जनातालाई जोगाउन चुनौती पनि छ । तर यसो भन्दैमा सरकार यहाँबाट उम्कन भने पाउदैन । सरकारले अहिलेको अवस्थामा दुवै कामलाई सगँसगै लैजानुपर्छ । पछिल्लो समय सरकारले विरामीहरुको उपचारमा केही चासो देखाए पनि विपन्न वर्ग भोको रहने अवस्थालाई भने वेवास्ता गरेको छ । संक्रमणको अवस्था अझ यस्तै रहदै जाने हो भने दैनिक ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्ने वर्ग रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ सरकारले यस्ता वर्गहरुको समयमै पहिचान गरी राहतका प्याकेज कार्यक्रम ल्याएर दैनिक गुजाराको समस्या टार्दै अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update