Shittalpati
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन

रामचन्द्र रायमाझी
पाल्पा,जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् । अधिकांस कोरोना संक्रमितहरुलाई अक्सिजनको मात्र आवश्यक पर्न थालेपछि अस्पताल र नगर सरकारले संयुक्त रुपमा ४० शैयाको अक्सिजन सहितका आइसोलेसन निर्माण गरेका हुन् ।


उनीहरुले पाल्पा अस्पतालमा २० बेड र त्रिभुवन बहुमुखी क्याम्पसमा २० बेडको आइसोलेसन बनाएका छन् । अस्पतालमा संक्रमित बिरामीको चाप बढ्न थालेपछि तानसेन नगर सरकारको सहयोगमा अक्सिजन सहितको आइसोलेसन कक्षा निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । उनले भने,‘ अहिले अस्पतालमा २० बेडको मात्र आइसोलेसन निर्माण गरेका छौं, पछि आवश्यकता अनुसार थप गर्दै जाने छौं ।’ अस्पतालमा यस अघि जम्मा ४ वटा आइसोलेसन शैया (अक्सिजनयुक्त) रहेका थिए । अस्पतालको एउटा कक्षमा शैया निर्माण गरी पाइप लाइनमार्फत अक्सिजनको व्यवस्था मिलाइएको छ । यस अघि अस्पताल भित्र कोरोना संक्रमितको उपचार गरिदैन थियो । ‘जनतालाई सर्वसुलभ र सरल तरिकाले सेवा दिने गरी स्थापना भएको सरकारी अस्पताल हो,’ पाण्डेले भने, ‘कोरोनाका कारण गम्भीर बिरामी भएकालाई तत्काल केही राहत दिने उद्देश्यले अक्सिजनयुक्त शैया निर्माण गरेका छौं ।’ यहाँबाट पाइने कुनैपनि उपचारमा कमी हुन नदिने उनले बताए । अब कोरोना संक्रमण भएका बिरामीको उपचारका लागि अक्सिजन अभाव नहुने गरी काम गरेको अध्यक्ष पाण्डेको भनाई छ । उनका अनुसार अहिले ६ जना कोरोना संक्रमित बिरामीको उपचार अस्पतालभित्रै भईरहेको छ ।
अस्पतालले गत वर्षदेखि कोभिड–१९ परीक्षण प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ । तानसेन स्थित काजीपौवामा रहेको प्रयोगशालामा पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मीका स्वाब परीक्षण हुँदै आएको छ । त्यस्तै कोरोना संक्रमितका लागि त्रिभुवन बहुमुखी क्याम्पसमा समेत अक्सिजन सुविधा सहितको थप २० बेड तयार गरिएको छ ।
तानसेन नगरपालिकाको आर्थिक लगानी र पाल्पा अस्पतालको प्राविधिक सहयोगमा अक्सिजन सहितको आइसोलेसन कक्षा निर्माण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताए । उनका अनुसार गम्भीर प्रकृतिका बिरामीहरु लाई पाल्पा अस्पतालमा राखेर उपचार गरिने छ भने सामन्य किसिमका संक्रमितहरुलाई क्याम्पसमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गरिने छ ।
जिल्लाभित्र कुल संक्रमित मध्ये ५० प्रतिशत बिरामी तानसेन नगरपालिका भित्र रहेकाले नगर सरकारले जिल्ला अस्पताल र मिसन अस्पतालको समन्वयमा चिकित्सकीय सुविधासहितको कोरोना अस्पताल निर्माण गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update