Shittalpati
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे

गुल्मी,गुल्मीका पत्रकारहरु अक्सिजन जोहो गर्न जुटेका छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अक्सिजनको जोहो गर्न जुटेको हो ।

महासंघले अक्सिजन खरिदका लागि आवश्यक पर्ने रकम संकलन अभियान नै सञ्चालन गरेको छ । अक्सिजनको अभावमा कुनै पनि जनताले ज्यान गुमाउन नपरोस् भनी अक्सिजन सिलिण्डरको खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए ।

उनले भने ‘अक्सिजन अभावमा ज्यान गुमाएका धेरै घटनाहरु आएपछि महासघंले जिल्लावासीले अक्सिजन अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना नहोस् भन्नका लागि अक्सिजन खरिदका गर्न रकम संकलन अभियान चलाएका छौं ।’

वैशाख २५ गतेबाट सुरु भएको पत्रकार महासघंको अभियानमा अहिलेसम्म झण्डै १५ लाख रकम संकलन भइसकेको महासंघका उपाध्यक्ष रेशम कुँवरले बताए । ‘हामीले सुरु गरेको अभियानमा हामी सफल हुन्छौँ ।’ उपाध्यक्ष कुँवरले भने, ‘अक्सिजन अभावमा कुनै नागरिक मर्नुपर्दैन ।’ रकम सहयोग सकंलन अभियान अहिले पनि जारी रहेको छ । सूचना दिने र समाचार लेख्ने मात्र नभएर नागरिकको सुरक्षाका लागि पनि आफुहरु अगाडि सरेको उपाध्यक्ष कुंवरले बताए ।

संकलन भएको रकम मध्ये ५ लाख रुपैयाँ २० वटा अक्सिजन सिलिण्डर खरिदका लागि पठाइएको महासंघका सचिव प्रेम सुनारले जानकारी दिए । उक्त अक्सिजन सिलिण्डर आवश्यकताको आधारमा गुल्मी अस्पताललाई १० थान उपलब्ध गराउने र बाँकी १० थान जिल्ला कोभिड १९ सकंट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई प्रदान गर्ने निर्णय भएको छ ।

महासघंले सुरु गरेको यो अभियानमा देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् । विपदको समयमा सबै एकजुट हुनुपर्छ भन्ने सन्देशका साथ रोजगारीका क्रममा विदेशमा रहेका, स्वदेशमा रहेका व्यक्ति, विभिन्न सघं संस्थाले सहयोग गरिरहेका छन् । महासघंले यस अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । सहयोग सकंलनका लागि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत अभियान सञ्चालन गरिरहेका छन् । अभियानमा महासंघका अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर, सचिव प्रेम सुनार, निवर्तमान अध्यक्ष नवराज भुसाल, पुर्व अध्यक्ष जर्नादन घिमिरे, पूर्व सचिव तारा भुसाल लगायत जिल्लाका क्रियाशिल पत्रकारहरु जुटेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update