Shittalpati
आज मातातिर्थ औशी मनाइदै

पाल्पा, आज जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा हरेक वर्ष वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइने गरिन्छ ।
जीवित अथवा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ ।
आज विशेषगरि छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ । त्यस्तै आमाले पनि आफ्ना सन्ताहरुलाई दीर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आर्शिवाद दिन्छन् ।
साथै आमा नभएकाहरुले भने नजिकै रहेको मातातीर्थ कुण्डमा गएर त्यहाँ स्नान गरी आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान र भोजन गराउँदै दिवंगत आमाको सम्झ्ना गर्ने प्रचलन रहेको छ । साथै त्यहाँसम्म पुग्न नसकेकाहरूले कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राÞमणलाई सिदा दान गर्ने परम्परा रहेको छ । यसअघि आजका दिन मातातिर्थ कुण्डहरुमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्ने गर्दथ्यो । यसपाली भने सरकारले कोरोना (कोभिड–१९) संक्रमण नफैलियोस् भनेर लकडाउन गरेको कारण बन्द छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update