Shittalpati
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमितलाई लक्षित गरी १५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा संक्रमितहरुको संख्या बढ्दै गए पछि गाउँपालिकाले माथागढी ४ देवगिरमा अस्पताल सञ्चालन गरेको हो ।
यस अघि संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा ५ शैया र गाउँपालिकाको आफ्नै लगानीमा ५ शैया गरी १० शैयाको कोभिड अस्पताल सञ्चालन थियो । गाउँपालिकामा संक्रमणको दर बढ्दै गएपछि गाँउपालिकाले ५ शैया थप गरी १५ शैयाको सेवा विस्तार गरेको गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए । उनले अगामी दिनमा कोभिडका विरामीहरुलाई उपचारमा कुनै कमी नहोस् भन्ने सोंचका साथ सेवा विस्तार गरेको बताए । १५ शैयाको अस्पतालमा १५ वटै विशेष केयरसहितको बेड रहेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना महामारीले देशमा भयावह अवस्था निम्तिएपछि भौतिक पूर्वधार सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । आगामी दिनहरुमा संक्रमितको संख्या थप बढ्दै जाँन सक्ने भएकाले गाउँपालिकाले सम्पूर्ण पूर्व तयारी गरिसकेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख केशव जिसिले बताए । उनले भने ‘नेपाल सरकारको मापदण्ड अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामग्री सहित तयारी अवस्थामा छौं ।’ कोभिड अस्पतालमा उपचारका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै जाँदा कोरोना संक्रमितको सहज उपचारका लागि अस्पतालले महत्वपूर्ण टेवा पुग्नेमा गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update