Shittalpati
कोरोनाकालमा दलहरूका तमासा

देश फेरी पनि कोरोनाको दोस्रो लहरको चपेटामा छ । कोरोना ह्वारह्वार्ती आगोझैँ सल्किरहेको छ । सम्पूर्ण देश नै एकप्रकारले लकडाउनमा समेत गैसकेको अवस्था छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ । हजारौँ संक्रमितहरू थपिँदै गएका छन् । आईसीयू बेडको अभावमा घरमै छटपटाइरहेका संक्रमितहरूले जीवनको भीख मागिरहेका छन् । अस्पतालमा अक्सिजनसमेत नपाएर बेहाल छ । नागरिकहरू मरेरै सकिने हुन् कि भन्ने त्रास बढ्न थालेको छ ।


तर,यस्तो विषम परिस्थितिमा समेत सत्ता राजनीतिको खेलमा निमग्न नायकहरुलाई त्यसको कुनै पर्वाह भएको पाइँदैन । यस्तो अवस्थामा राजनीतिक दलका नेताहरू सरकार फेर्ने र बचाउने तुच्छ दाउपेचमै तल्लीन छन् । सत्तारूढ दल आफ्नो सरकार जोगाउनमा केन्द्रीत छ भने विपक्षी दलहरू जसरी पनि सरकार ढाल्न कस्सिएका छन् । कोरोनाविरूद्ध सिङ्गो देश एक भएर लड्नुपर्ने परिस्थितिमा हाम्रा नेताहरू फगत कुर्सीका लागि लडिरहेका छन् । केन्द्रदेखि प्रदेशसम्म अविश्वास प्रस्ताव पास गराउने र फेल गराउने बहानामा राजनीतिक दलहरु तमासा देखाउन मै व्यस्त छन् । एक अर्कालाई खुइल्याएर नाङ्गेझार बनाउने होडबाजीमा नेताहरु लागेका छन् । पार्टीभित्र न त जनताले भोगेका समस्याबारे कहिल्यै छलफल भयो न त महामारीका विषयमा कुनै चिन्तन र प्रयास नै । न त सरकारका कामकारबाहीबारे कुनै छलफल नै । बरू अल्पमतका नाममा नेताहरूले नानाथरी तमासा देखाइरहेका छन् । आफ्नो खेमालाई बलियो देखाउनका लागि एकअर्का विरूद्ध तछाडमछाड र गालीगलौजमा उत्रिएका छन् । उनीहरूको भाषा र क्रियाकलापमा जनताले दैनिक जीवनमा भोगेका समस्या र दुःखकष्टसँग भने कुनै सरोकार र साइनो देखिएको छैन । यो विडम्वनाको कुरा हो । कोरोना महामारीले आक्रान्त लुम्बिनीको नागरिकका पीडा र दर्द बिर्सेर आईतबार लुम्बिनी प्रदेशका राजनीतिक दलहरुले जसरी सरकार बदल्ने अप्रिय खेल शुरू गरे त्यो दुखद हो । प्रदेशसभामा कायम सदस्यहरुको बहुमत सांसदहरुको धर्ना छल्दै प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर नेकपा एमालेका नेता शंकर पोखरेलले राति आठ बजे मुख्यमन्त्रीको शपथ लिएका छन् । आइतबार बिहान ८ बजे पदबाट राजीनामा दिएका पोखरेलले ठीक १२ घण्टापछि सुरक्षाकर्मीहरूको कडा घेराबीच पुनः मुख्यमन्त्रीको शपथ लिए । यो शपथ संविधान विपरीत भएको भन्दै प्रतिपक्ष दलहरुले विरोध जनाउदै आन्दोलन समेत गरे । तर रोग, शोक र भोकले जनता दिनानुदिन प्रताडित हुँदै गएको प्रति पूरै आँखा चिम्लिएर सत्ता र कुर्सीको हानाथापमै यसरी राजनीतिक दलहरु देखिनु गलत हो । यस्तो अवस्थामा जनताप्रति राजनीतिक दलहरु कत्ति पनि संवेदलनिशल भएको देखिएन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update