Shittalpati
कुंवरको हत्यामा संलग्न सार्वजनिक

रमेश विश्वकर्मा
गुल्मी, जिल्ला प्रहरी कार्यालयले इस्मा गाउँपालिका २ का होटल व्यवसायी मोतिबहादुर कुँवरको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको छ । कुवँरको हत्या भएको सात महिना पछि निरन्तर अनुसन्धानबाट हत्यामा संलग्नहरुलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न १८ वर्षीय रमेश कुमाल, १८ वर्षकै गोले भन्ने सन्तोष कुमाल र २० वर्षीय सुशील कुमाल रहेका छन् । उनीहरु तीनै जना इस्मा गाउँपालिका १ का हुन् । उनीहरुले कुवँरलाई गत भदौ २१ गते आफ्नै होटलमा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

२३ वर्षिय होटल व्यवसायी कुँवरको आफ्नै होटलमा रगताम्य अवस्थामा भेटिएकोमा उपचारको क्रममा गत भदौ २२ गते मृत्यु भएको थियो । कुँवरले सोही गाउँपालिकाको वडा नम्बर १ छिनुवाखोलामा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । लामो समयको अनुसन्धानपछि सफलता प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले भने,‘हामी लामो समय घटनास्थलमा पुग्ने र त्यहाँका स्थानीयवासीहरुसगँ भेटघाट, छलफल गर्ने काम भयो । सात महिनासम्म प्रहरी छिनुवाखोला र इस्मा नपुगेको कुनै दिन खाली भएन ।’ भदौ ३ गते तीजको मेला हेर्न जाने क्रममा ३ जना प्रतिवादीहरु युवतीसगँ बसेको अवस्थामा मोतीबहादुरले मुखमा लाईट देखाएको विषयमा झगडा भएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

सोही दिन देखि नै कुँवर र प्रतिवादी कुमालहरु बिच झगडा शुरु भएको अनुसन्धानबाट खुल्न आएको भट्टराईले जानकारी दिए । सोहि झगडाले कुवँरको ज्यान गएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । प्रक्राउ गरी सार्वजनिक गरिएका उनीहरुलाई आइतवार जिल्ला अदालत गुल्मीबाट म्याद थपेर घटनाका बारेमा थप अनुसन्धान अगाडि वढाईएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update