Shittalpati
निषेधाज्ञाको सदुपयोग गरौं

कोभिड–१९ संक्रमण दर ह्वात्तै उच्च भएसँगै सरकारले पाल्पा सहित संक्रमित संख्या बढी देखिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणका कारण घण्टैपिच्छे मृत्यु हुन थालेपछि सरकारले रोकथामको विकल्प रोजेको हो । छिमेकी भारतसँगै नेपालमा पनि महामारीले पुनः आक्रान्त पार्न थालेको छ । गतवर्ष चैत ११ गतेदेखि निषेधाज्ञा (लकडाउन) सुरु गरिएको थियो । क्रमशः सहज हुन थालेपछि खोलिएको निषेधाज्ञा दोस्रो चरणको कोरोना संक्रमणको व्यापकतासँगै पुनः सुरु गर्न लागिएको हो । सावधानी अपनाउने र प्रतिबन्धात्मक उपायहरू अपनाउने जस्ता कामले माघ–फागुनदेखि जनजीवन सामान्यमा फर्किएको थियो । पछिल्लो एक सातामा संक्रमण र मृत्यु दरको आँकडाले भने मुलुकभर एकाएक नयाँ र चुनौतीपूर्ण परिस्थिति जन्माएको छ ।

संक्रमणका कारण परिस्थिति जटिल बन्दै गएपछि सरकारले निषेधाज्ञा गर्ने निर्णय लिनु आफैंमा अस्वाभाविक होइन । तर के भुल्नु हुँदैन भने, केवल निषेधाज्ञा लगाएकै भरमा संक्रमण स्वतः रोकिँदैन । संक्रमणको दर घटाउन त नागरिकहरूले जनस्वास्थ्यका मापदण्डहरूको पालना अनिवार्य रूपमा गर्नै पर्छ । सरकारले पनि पीसीआर परीक्षण र ‘कन्ट्याक्ट ट्रेसिङ’ लाई उत्तिकै प्रभावकारी बनाउनुपर्छ । नागरिक र सरकार दुवैले आ–आफ्नो दायित्व पालना गरेका खण्डमा मात्रै निषेधाज्ञा जस्तो कठोर उपायको औचित्य पुष्टि हुन्छ । अन्यथा न संक्रमण रोकिन्छ न मृत्युदर नै । यसले आर्थिक गतिविधि ठप्प बनाउनु बाहेक अरु केही पनि हुँदैन । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसम्बन्धी मापदण्ड र चेतावनी जारी गरिरहे पनि आम नागरिकबाटै चेतावनीको बेवास्ता गरी खेलाँची गरिरहेको देखिनु आपत्तिजनक छ । अहिले पनि शहरका चोक–चोक र खाजा पसलमा, सार्वजनिक यातायात र व्यापारिक कम्प्लेक्समा, सरकारी र निजी कार्यालयमा भौतिक दूरी कायम नगरी, मास्क र सेनिटाइजरको प्रयोग नगरी भीडभाड गर्नेको कमी छैन । मानिस आफूलाई कोरोनाले छुँदैन भनेझैं गरी हिँडिरहेका छन् । यसले संक्रमण दर बढाउने र भयावह अवस्था आउनेतिरै संकेत गरेको छ । संक्रमणको ग्राफ बढ्दो छ, सिकिस्त बिरामी बढ्दै छन्, अस्पतालमा शैया अभाव हुन थालिसक्यो । जिल्लाहरूमा निषेधाज्ञा घोषणा हुने सिलसिला जारी छ । अहिले नागरिकले सिक्ने भनेकै यही भूल नदोहोर्‍याउने हो, निषेधाज्ञाले तोकेका नियमहरूको हुबहु पालना गर्ने हो । यो अरू कसैका लागि गर्दिने होइन, सिर्फ आफ्ना लागि गर्ने हो, आफ्नो परिवार र समुदायको स्वास्थ्यका लागि गर्ने हो भन्ने कुराको हेक्का सबैले राख्न जरुरी छ । यसो गरेमा मात्रै महामारी रोकथाम भई निषेधाज्ञाको सदुपयोग हुने छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update