Shittalpati
पाल्पामा निषेधाज्ञाको पहिलो दिन सुनसान देखियो

सीमा भट्टराई
पाल्पा, कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन पाल्पामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । जिल्लाका मुख्य मुख्य शहर र तानसेनका मुख्य सडकमा पनि सुनसान देखियो । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले सम्झाई बुझाई गरेको छ । सँधै व्यस्त रहने तानसेनको बसपार्क, तेस्रो सडक, शितलपाटी लगायतका स्थान शनिबार बिहानैदेखि सुनसान रहे । शनिबार भएकाले पनि यहाँका सरकारी कार्यालय, खाद्यान्नका पसलहरु समेत बन्द थिए ।

शुक्रबार राति १२ बजेदिखि निषेधाज्ञा गरिएकाले शनिबार बिहानैदेखि सार्वजनिक र नीजि सवारीसाधन निकै कम चलेका छन् । एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, बिवाहका सवारी, खानेपानी दुधजन्य पदार्थ बोक्ने सवारीबाहेक अन्य सवारीसाधन चलेका छैनन् । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सवारी साधनहरुलाई परिचयपत्र देखाएर सवारीसाधन चलाउन छुट दिएकाले केही छिट्टफुट्ट रुपमा भने गाडीहरु गुडेका थिए । मानिसहरूको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो गराइएको छ ।

संक्रमण बढ्दै गएपछि पाल्पामा जिल्ला प्रशासनले बैशाख २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको अवधिभर अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ । यो समयमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्राहालय आदि सञ्चालन गर्न पाइने छैन । यस समयावधिभर एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु सञ्चालन हुने छन् । यी बाहेक जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा भने रोक लगाइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update