Shittalpati
लापरवाही नगरौं


कोरोनाको पुनः दोस्रो लहर सुरू भइसकेको छ । युरोप, अमेरिका, अफ्रिका हुँदै एसियाली मुलुक पनि कोरोनाको दोस्रो चपेटामा परिसकेका छन् । नेपालमा लगभग नियन्त्रणमा आइसकेको यो महाव्याधिको दोस्रो लहरले नेपालमा ठूलो रुप लिएको छ । दैनिक औसत ४०/५० जनामा झरिसकेको कोरोना भाइरस संक्रमण अहिले हजार भन्दा माथि पुग्नु र समुदायस्तरका व्यक्तिमा संक्रमण देखा पर्नुले कोरोनाको जोखिम बढ्दै गएको पुष्टि हुन्छ । यसै पनि नेपाल भारतसँगको खुला सीमाका कारण संक्रमणको जोखिममा रहँदै आएको छ । भारतका विभिन्न प्रान्तमा मजदुरी गर्ने बहुसंख्यक नेपाली फर्किनेक्रम सुरू भएसँगै संक्रमणको जोखिम बढ्दै गएको हो ।


कोरोना भाइरसको संक्रमण देशमा डर लाग्दो देखिए पनि आम नागरिक र सरकार दुवैले लापरवाही देखिएका छन् । नागरिकलाई मास्क लगाएर हिड्न पनि असजिलो लागेको छ भने सरकार महामारी नियन्त्रणको औपचारिकतामा सीमित छ । सरकार एकातिर जनस्वास्थ्यका मापदण्डलाई हेलचेक्र्याइँ नगर्न जनतालाई आग्रह गर्छ, तर स्वयं भने त्यसको बेवास्ता गरिरहेको हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनताले नियमको पालना नगरे सरकारले कठोर कदम उठाउने चेतावनी दिँदै छ भने सरकारकै मुख्य निकाय प्रधानमन्त्री कार्यालयमा कुम्भ मेला लागिरहेको हुन्छ । कोरोना संक्रमणले पद हेर्दैन र ओहदा चिन्दैन, जहाँ भीडभाड उहीं रमाउँछ । सरकार स्वयं उदाहरण बनेर पालना नगर्दा आम नागरिक भ्रममा परेका छन् । संक्रमण व्यापक रूपमा बढ्दै जाँदा अधिकांस कार्यालय बन्द हुन थालेका छन् । अस्पतालमा जोखिम मोलेर खटिनुपर्ने चिकित्सक संक्रमित भइरहेका छन् भने स्टाफ नर्सको पनि निधन भएको छ । कोरोनाले ठूलो सानो केही भन्दैन । कोरोना महामारीलाई सामन्य रुपमा नलिऊ । सानो लापरवाहीले ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । तसर्थ आफू बाँचे मात्र संसार देखिन्छ भन्ने मूलमन्त्रलाई सबैले अनुशरण गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update