Shittalpati
स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ

कोरोनाको दोस्रो लहरले नेपालमा पनि ठूलो रुप लिएको छ । महामारीका कारण मानव स्वास्थ्य मात्र होइन अन्य क्षेत्रहरु पनि नराम्रोसँग प्रभावित भएका छन् । पछिल्ला दिनहरुमा कोरोना महामारीका कारण कहालीलाग्दा दृश्यहरु देखिन थालेका छन् ।कोरोनाको पहिलो लहरमा देखाइएको जस्तो सतर्कता र प्राथमिक उपचारले मात्रै अब काम नदिने अवस्था प्रष्ट भइसकेको छ । अहिलेको प्रतिकूल अवस्थालाई हेर्दा गम्भीर सावधानी अपनाइएन भने महामारी भुसको आगोझैँ व्यापक रुपमा देशभरि फैलिँदै जाने कुरा निश्चितजस्तै छ । अहिले संक्रमितहरुहरु दिनप्रतिदिन ठूलो संख्यामा बढ्दै गएपछि औषधोपचारका लागि स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार र संरचना अपर्याप्त हुन थालेका समाचारहरु बाहिरिएका छन् । बिरामीका लागि पर्याप्त आईसीयू, भेन्टिलेटर र अति आवश्यक स्वास्थ्यकर्मीको संख्या पर्याप्त नहुँदा गम्भीर प्रकृतिका बिरामी पनि बेवारिसे अवस्थामा रहन पुगेका घटनाहरु आफैमा कहालिलाग्दा छन् । विरामीहरुले स्वास्थ्यपचारका लागि निकै ठूलो सास्ती भोग्नु परेको अवस्था छ ।

गम्भीर संक्रमित बिरामीको समयमै आवश्यक उपचार हुन नसक्ने हो भने महामारीबाट हुने संक्रमितहरुको संख्या निकै बढेर जान सक्ने देखिएको छ । यस्तो अवस्थामा अहिले भएका स्वास्थ्य पूर्वधारहरुले थेक्न सक्ने अवस्था रहदैन । अहिलेदेखि नै अस्पतालमा बिरामी पुग्दा राख्ने स्थान, उपचार कक्ष, आवश्यक स्वास्थ्यकर्मी पाउन सकिरहेका छैनन् । संक्रमणको दर अझै यस्तै गतिमा बढ्ने हो भने यसले ठूलो रुप लिने देखिन्छ । तर सरकारले भने अहिलेसम्म पनि त्यसतर्फ गम्भीरतापूर्वक ध्यान दिन सकिरहेको छैन । रोगविरूद्ध संघर्ष गरिरहेका बिरामीहरुको बाँच्ने अधिकार सुनिश्चित गर्न पनि हरेक प्रकारका स्वास्थ्य पूर्वाधारमा कन्जुस्याइँ गरिएको नदेखिनुपर्ने हो, तर स्वास्थ्य सेवा पनि केवल काम चलाउ बन्दै गैरहेको देखिनु विडम्बनापूर्ण लाग्छ । देशका अधिकांश जिल्लाहरुमा गत वर्ष निर्माण गरिएका आइसोलेसन सेन्टरहरुको अहिले अस्तित्वसमेत छैन भने कन्ट्याक ट्रेसिङ त परको कुरा शङ्कास्पद बिरामीहरुलाई समेत उचितरुपमा चेकजाँच गरिएको पाइँदैन । यो दुखद् हो । अब पनि सरकारले स्वास्थ्य पूर्वधारमा कुनै पनि अभाव हुन दिनुहुँदैन । सरकारले अस्पतालहरुमा देखिएको जनशक्तिको चरम अभावलाई सम्बोधन गर्न, स्वास्थ्य सेवालाई चुस्तदुरूस्त बनाउनका लागि उपकरण र प्रविधिहरुको प्रभावकारी रुपमा प्रयोग गर्ने दिशामा अग्रसरता देखाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update