Shittalpati
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा

पाल्पा, कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।


बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पछिल्लो एक साताको अवधिमै २०० बढी सक्रिय संक्रमित थपिएपछि यसको नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रमा श्रेष्ठले बताईन् ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नपाइने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ ।

पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनहरु भने पाल्पा जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न पाउने छन् ।
त्यस्तै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ । सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाँच घर, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेण्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ । त्यस्तै बैंठकले सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ । विवाह व्रतबन्ध वा अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने छ, तर यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई २५ जना भन्दा त्रढी सहभागी हुन भने पाइने छैन । यस अघि विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईन तथा आइशोलेशन स्थलहरुलाई सम्बन्धित स्थानीय सरकारहरुले पुनः सञ्चालनमा ल्याउन सक्ने जनाइएको छ । भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकहरुलाई सम्बन्धित स्थानीय सरकारहरुले कम्तीमा १० दिन क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउनुपर्ने छ । यदि कोही कसैले निषेधाज्ञाको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्ता छन् बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरु :

 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update