Shittalpati
देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित

रामचन्द्र रायमाझी
पाल्पा, नेपालमा कोरोना संक्रमण बढ्दै गए पछि देशभरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । सरकारले सोमबारदेखि नै शैक्षिक संस्थाहरु बन्द गर्न भने पनि अधिकांश शैक्षिक संस्थाहरु भने आज मंगलबारदेखि बन्द भएका हुन् । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भने पठन–पाठन गर्न सकिने सरकारले जनाएको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । यद्यपि, केही जिल्लामा सञ्चालन भइरहेका परीक्षा र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेका परीक्षा सोमबार भने सञ्चालन भएका थिए । सरकारको निर्णय ढिलो आउँदा कतिपय विद्यालयले सोमबारको परीक्षा सञ्चालन गरेका हुन् । आजदेखि भने सबै परीक्षा स्थगित भएका छन् । त्रिभुवन विश्वविद्यालयले पनि सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि हुने सबै परीक्षा स्थगन गरेको हो । कोरोना भाइरसको दोस्रो प्रकोपले देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा भएका कारण अहिलेको स्थितिमा परीक्षा सञ्चालन गर्न नसकिने भन्दै परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ । त्रिविको वार्षिक परीक्षाअन्तर्गत स्नातक तह र स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका थिए । यही वैशाख १९ गतेसम्म सञ्चालन हुने परीक्षाअन्तर्गत मानविकी, शिक्षा र विज्ञान संकायका केही विषय मात्र बाँकी थिए । यस्तै वैशाख १९ गतेदेखि स्नातकोत्तर तहको सेमेष्टरअन्तर्गतका परीक्षासमेत सञ्चालन गर्ने पनिकाको तयारी थियो । यसअघि पनि गत वर्ष चैतमा कोभिड–१९ का कारणले परीक्षा स्थगन गरिएका थिए । ती परीक्षा गत मङ्सिरदेखि निरन्तर सञ्चालन भइरहेका थिए ।


पाल्पाका केही स्थानीय तहका विद्यालयहरुले सोमबार शैक्षिक संस्थाहरु सञ्चालन गरे पनि आजदेखि पूर्णरुपमा बन्द गरेका छन् । सरकारले बालबालिकामा संक्रमणको जोखिम उच्च रहेकाले परीक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेपछि यहाँका विद्यालहरु पनि बन्द गरिएका हुन् । कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गरिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । उनले भने ‘भौतिक उपस्थितिमा विद्यालयमा परीक्षा सञ्चालन गर्दा बालबालिकामा संक्रमणको जोखिम उच्च भएकाले रोक लगाउने निर्णय गरिएको छ ।’ अब विद्यालयहरू भर्चुअल माध्यममा मात्रै सञ्चालन हुने माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । संघीय सरकारको निर्णय अनुसार सबै परीक्षा स्थगित गर्न विद्यालयलाई सुचित गरेको उनले जानकारी दिए । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने अध्यक्ष थापाको भनाई छ । अर्को सूचना नआउँदा सम्मका लागि वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने गरी शैक्षिक संस्था सहित परीक्षाहरु बन्द गरिएको माथागढी गाउँपालिकाका शिक्षा संयोजक अशेष भट्टराईले बताए । उनले भने ‘भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भने पठनपाठन जारी राखिने छ ।’

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update