Shittalpati
कोरोनाविरुद्धको तयारीमा जुटौं

पछिल्लो समय नेपालमा पनि कोरोना महामरी भयावह बन्दै गएको छ । पहिलो चरणको महामारीबाट थिलो थिलो परेको नेपाल पुनः थिलो थिलो पर्न लागेको छ । अब पनि उच्च सर्तकता नपनाउने हो भने देश भयावह अवस्थामा जाने निश्चित छ । सरकार यस्तो विषम परिस्थतीप्रति त्यत्ति संवेदनशिल भएको देखिदैन । अति प्रभावित क्षेत्रका केही शहरमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारले आग्रह गरेको त छ तर यो नै प्रभावकारी तयारी भने होइन ।

सरकारले निषेधाज्ञा नगर्ने त भनेको छ तर बजारमा मानिसहरूको चहलपहलमा कत्ति पनि कमी नभएको देख्दा निषेधाज्ञा नगरी नहुने अवस्था पनि छ । अहिलेसम्म गाउँहरूमा यस्तो अवस्था सिर्जना नभए पनि सबै शहरको अवस्था झण्डै समान छ । बाक्लो बस्ती र मानिसको चहलपहल हुने ठाउँहरू शहर हुन् । भीड बढी हुनासाथ ती ठाउँहरूमा स्वभावतः कुनै सरुवा रोग र महामारी छिट्टै फैलिन्छन् । कोरोनाको प्रकोप यस्तै हो । पाल्पामा मात्र प्रतिदिन भेटिएका संक्रमितमध्ये आधा भन्दा बढी त संक्रमित नै भेटिन थालेका छन् । यसले यहाँको स्थिति भयावह छ भन्ने पुष्टि हुन्छ । सामनाको तयारी सरकारले गरेको पाइएको छैन । एकपटक चेतिसकेर पनि सरकार तयारीमा छैन । यो सरकारको अकर्मन्यता हो । सरकार अहिलेकै शैलीमा मात्रै अघि बढिरहे भारतबाट नेपाल प्रवेश गरेका संक्रमितमार्फत नै यहाँको अवस्था भयावह बन्ने खतरा उच्च छ । तसर्थ, सरकारले मुलुकलाई जानी–जानी जोखिमको बाटो हिँडाउनु हुन्न । विशेषतः सीमा नाकाहरुमा विशेष उच्च सर्तकता अपनाउनुपर्छ । यसको मतलब, घर फर्कन चाहने नेपाली नागरिकका लागि ढोका थुन्नुपर्छ भन्ने होइन, त्यसो गरिनु पनि हुन्न । तर अहिलेको जस्तो निर्बाध आवागमनचाहिँ रोक्नैपर्छ । घर फर्किने नेपालीका हकमा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्डको पूर्ण पालनामा तीनै तहका सरकारहरू सक्रिय बन्न जरुरी छ । दैनिक रूपमा हुने स्थानीय किनमेललगायत अन्य किसिमका आवतजावत भने ठप्पै पारिनुपर्छ । तर जनताका लागि अभावको सामना गर्ने नपरोस् भनेर वैकल्पिक व्यवस्था गरिदिनुपर्छ । सरकारले कोरोनाको यस्तो भयावह अवस्थामा जनताको सुरक्षाका लागि कुनै योजना बनाएको पाइएको छैन, केवल सचेतमात्र गराइरहेको छ । यसले मात्र कोरोना नियन्त्रण गर्न सकिदैन । स्वास्थ्य मापदण्ड पालनासम्बन्धी व्यवस्थापनका निम्ति पूर्वाधार, प्रक्रिया र जनशक्तिका पक्षमा पनि सरकारले त्यत्तिकै ध्यान दिइनुपर्छ । यो विषयमा अब पनि ढिलाइ गर्‍यौं भने, पछि ठूलै समस्या भोग्नुपर्ने निश्चित छ । यसर्थ महामारी नियन्त्रणका लागि आजैदेखि तयारीलाई व्यापक बनाउनु अपरिहार्य भएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update