Shittalpati
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय

पाल्पा,कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।
संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै यि दुई स्थानीय तहले विद्यालय बन्द गर्न लागेका हुन् ।
कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसपाद बस्यालले बताए ।
सोमबार गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी नियन्त्रणको लागि भोली देखी गाउँपालिका भित्रका सबै शैक्षिकसंस्थाहरु बैशाख २० गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकले भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय समेत गरेको गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीका बताए । उनका अनुसार उनीहरुको आफु बसेकै घरघरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था बगनासकाली गाउपालिकाले गर्ने निर्णय भएको छ ।
त्यसैगरी बगनासकाली गाउँपालिकाले तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने पनि निर्णय गरेको छ । सोमबार गाउँपालिकामा बसेको कार्यपालिका बैठकले अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पु¥याउने व्यवस्था गर्ने सम्मको निर्णय गरेको छ । त्यसैगरी घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने र आर्थिक विपन्नहरुलाई कोरोना अस्पतालमा लागेको खर्च समेत गाउँपालिकाले नै व्यहोर्ने पनि जनाइएको छ । गाउँपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र साँस्कृतिक क्रियाकलाप नगर्न समेत अनुरोध गरिएको छ ।
यस्तै माथागढी गाउँपालिकाले पनि कोरोना संक्रमण बढ्दै गएपछि भौपितक उपस्थितीमा सञ्चालन हुँदै आएका शैक्षिक संस्थाहरु बन्द गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गरी अर्को सूचना नआउँदासम्मका लागि वैकल्पिक माध्यमबाट पठनपाठन गर्ने गरी शैक्षिक संस्था सहित परीक्षाहरु बन्द गर्ने जनाएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिम हुने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा संयोजक अशेष भट्टराईले बताए ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update