Shittalpati
कोरोना कहर:  खुलेका विद्यालय फेरी बन्द गर्न थालियो

रामचन्द्र रायमाझी
पाल्पा,  कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै धमाधम विद्यालय बन्द गर्न थालिएको हो ।गुल्मी र रुपन्देहीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको हो । सोमबार (आज) देखि गुल्मीको सदरमुकामस्थित रेसुङ्गा नगरपालिकाले आफ्नो क्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गरेको छ । नगरपालिका प्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै विद्यालयस्तरसम्म कोरोना फैलिन सक्ने त्रासका कारण स्कुल बन्द गरिएको जनाइएको छ । शिक्षणसम्बन्धी सबै गतिविधि तत्कालका लागि स्थगित गरिएको जनाइएको छ । संक्रमण फैलिन नदिन स्कुल बन्द गर्नु उत्तम विकल्प भएको र ५ दिनपछि अवस्था हेरेर थप निर्णय लिने नगरपालिकाले जनाएको छ । उक्त निर्णय अनुसार वैशाख १३ गतेदेखि वैशाख १७ गतेसम्म विद्यालयहरु बन्द रहने छन् ।


यस्तै रुपन्देहीका १६ वटै स्थानीय तहका विद्यालयहरु पनि बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको छलफलले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । शनिबार तिलोत्तमा नगरपालिकाको नयाँमिलस्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा रहेकी छात्राको उच्च ज्वरोले मृत्यु भएपछि यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ । कक्षा १० मा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार मृत्यु भएको थियो । दुई दिनदेखि रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिए पछि शनिबार आफन्तले नजिकैको क्रिमसन अस्पताल लगेका थिए। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। विद्यालयको होस्टलमा करिब ८० विद्यार्थी बस्दै आएका छन्। अन्य विद्यार्थीमा पनि रुघाखोकीको समस्या देखिएको छ । स्थानीय प्रशासनले विद्यालय बन्द गर्न निर्देशन दिए पनि नगरपालिकाले वैशाख २० गतेभित्र सबै परीक्षा सम्पन्न गर्न निर्देशन दिँदै परीक्षा सञ्चालन गरिरहेको थियो । आइतबार बसेको बैंठकले भने रुपन्देहीका विद्यालयहरुमा सञ्चालित परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले वैशाख १४ गतेदेखि जिल्लामा सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update