
हाम्रा संवाददाता
पाल्पा, पाल्पा र गुल्मीका मानव अधिकारकर्मीहरुले लोकतन्त्र विना मानव अधिकारको प्रत्याभूति हुन नसक्ने बताएका छन् ।
शनिबार लोकतन्त्र दिवसका अवसरमा पाल्पाको तानसेन र गुल्मीको तम्घासमा भएका छुट्टाछुट्टै कार्यक्रममा सहभागीहरु मानव अधिकारकर्मीहरुले लोकतन्त्र बलियो भए मात्र मानव अधिकारको प्रत्याभूति हुने बताएका हुन् ।
उनीहरुले लोकतान्त्रिक व्यवस्थामा मात्र मानव अधिकार संरक्षणको प्रत्याभूति हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । लोकतान्त्रिक शासन व्यवस्थाको अभावमा मानव अधिकारको पूर्णरूपमा प्रयोग र प्रचलन सम्भव नहुने कार्यक्रममा सहभागी मानव अधिकारकर्मीहरुको भनाई छ । मानव अधिकारले प्रत्येक व्यक्तिको निर्णय निर्माण प्रक्रियामा सहभागिताको कुरालाई सुनिश्चित गर्ने भन्दै जनताको निर्णय प्रक्रियामा सहभागिता लोकतान्त्रिक व्यवस्थाको एक महत्वपूर्ण पक्ष रहेको उनीहरुले बताए । मानव अधिकार तथा शान्ति समाज पाल्पाले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर रावलले लोकतन्त्र र सुशासन कायम भए मात्र मानव अधिकार सुनिश्चित हुने बताए । उनले भने ‘लोकतन्त्रमा जनताहरुको शासन रहने भएकाले जब लोकतन्त्र बलियो हुन्छ तब मात्र मानव अधिकारको सुनिश्चितता हुन्छ ।’ मानव अधिकार तथा शान्ति समाजले लोकतन्त्र ल्याउनका लागि सडकमा आई पहिलो पटक आन्दोलन गरेको स्मरण गर्दै रावलले लोकतन्त्र संरक्षणका लागि समाज सधै प्रतिवद्ध रहेको धारणा व्यक्त गरे ।
मानव अधिकार तथा शान्ती समाज कुनै राजनीति पार्टीसँग सम्बन्धित नभएको र समावेशी संस्था रहेको उनले बताए । कार्यक्रममा नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष विष्णु पोखरेलले देशमा लोकतन्त्रले १५ वर्ष पार गर्दा पनि आम जनमानिसहरुले लोकतन्त्रको अनुभुति गर्न नसकेको बताए । कुनै पनि राजनितिक पार्टी सत्तामा जाँदा पार्टीका निश्चित व्यक्तिहरुको लागि लोकतन्त्र हुने तर अन्य पार्टी एवं व्यक्तिलाई लोकतन्त्रको अनुभुति नहुने उनको भनाई छ ।
समाजका निवर्तमान सभापति नारायण प्रसाद शर्माले पछिल्लो समय राजनितिक दलहरुकै कारण संकटमा पर्न लागेकाले लोकतन्त्रको संरक्षण गर्ने दिशामा समाज प्रतिवद्ध रहेको बताए । कार्यक्रममा समाजका सदस्यहरु सकुन्तला घिमिरे, अशोक घिमिरे, जमुना पोखरेल,सह सचिव ठाकुर अधिकारी, पत्रकार सन्तोष गहतराज लगायतले लोकतन्त्रको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका थिए । समाजका अध्यक्ष अरूण ज्ञवालीको अध्यक्षता, सदस्य इन्दिरा ज्ञवालीको स्वागत, संस्थाका सचिव सन्त विर बरालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
यस्तै मानव अधिकार तथा शान्ति समाज गुल्मीको आयोजनामा तम्घासमा भएको कार्यक्रममा पनि सहभागीहरुले लोकतन्त्र विना मानव अधिकारको प्रत्याभूति हुन नसक्ने बताएका छन् । कार्यक्रममा समाजका सभापति ढुण्डीराज पोखरेलले लोकतन्त्र सुदृढीकरण भए मात्र मानव अधिकारको प्रत्याभूति हुने बताए । उनले लोकतन्त्र सुदृढ गर्ने कार्यमा लाग्न सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह समेत गरे । समाजका जिल्ला सदस्य विनोद पाण्डेले संवैधानिक निकायले स्वतन्त्र रुपमा काम गरेमा मात्र लोकतन्त्र बलियो हुने बताए । उनले लोकतन्त्र बलियो भएमा मात्र जनताका आवश्यकता पुरा हुने उल्लेख गरे । सुशासन अभियान गुल्मीका अध्यक्ष श्याम कुमार पाण्डेले मानव अधिकार र लोकतन्त्रको पक्षमा समाजले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । समाजका उपाध्यक्ष डोर विक्रम श्रीसको स्वागत सचिव गणेशबहादुर अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।