Shittalpati
सम्झनामा २०७२ वैशाख १२

२०७२ सालको आगमनको खुसियाली मनाउन नपाउँदै बैशाख १२ मा गएको ७ दशमलव ८ म्याग्नेच्युटको कम्पन अहिले पनि सबैको मानस्पटलमा स्मरण नै छ । छ वर्ष अघि आजकै दिन मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सबैले आज सम्झने छन् । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम सम्वत् २०७२ सालको भुकम्पको छैठौं वर्ष पुगेको दिन हो, आज । त्यो महाभूकम्पको त्रास अझै बाँकी छ । त्यो समयमा करिब ९ हजार मानिसको ज्यान गएको थियो, भने हजारौँको संख्यामा घाइते भएर अहिले पनि पूर्ण रुपमा स्वस्थ भइसकेका छैनन् । त्यस्तै बैशाख १२ को झट्काले लाखौ मानिस घरबार बिहिन भए ।

भूकम्पले लडाएको संरचनाहरू अझै पनि ठडिन सकेका छैनन् । उक्त भूकम्पले अन्य थुप्रै पाठहरू सिकाएर गयो । जनधनको क्षति गर्‍यो । आज त्यतिखेरका दृश्यहरूलाई पुनरावलोकन गर्ने दिन पनि हो । तर भूकम्पको ६ वर्ष पुगे पनि पुनर्निर्माणको काम अझै सकिएको छैन । अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ५ सय ५४ मध्ये ५८ हजार ६ सय ५० जनाले पुनर्निर्माणको काम सुरु गरेका पनि छैनन् । यो तथ्यांक सहरी क्षेत्रको रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । भूकम्पले ९ सय २० सम्पदा क्षतिग्रस्त बने । यसमध्ये अहिलेसम्म ४ सय ९३ वटाको मात्र पुनर्निर्माण सकिएको छ । २ सय ८८ वटाको पुनर्निर्माण भइरहेको छ । भूकम्पले घरका संरचना ध्वस्त पारेपछि नागरिकहरु पाल, त्रिपाल र छाप्रामा बस्न वाध्य भए । पहाडी बस्तीमा तीन तले घर हुन्थे । भूकम्पसँगै एक तले घरमा झर्न वाध्य भएका छन् । भूकम्पपछि ग्रामीण क्षेत्रका घरहरुको स्वरुप पनि परिवर्तन भएको छ । अझ ६ वर्षसम्म पनि पूरा नभएका पुर्नसंरचना अनि निर्माणको बेथिति देख्दा भने हामीले कति सजिलै अनि छिट्टै महाभूकम्पलाई भुल्यौं भन्ने पनि भान हुन्छ । भूकम्प एउटा प्राकृतिक प्रकोप हो । यसको नाश, बियोग अनि ज्ञान सबै कुरालाई आत्मसात् गर्दै अघि बढ्न जरुरी देखिन्छ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौं । जसले आजको दिनमा भूकम्पबाट ज्यान गुमाउनुभयो उहाँ ज्ञात–अज्ञात मृतआत्माहरू प्रति श्रद्धासुमन ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update