Shittalpati
लोकतन्त्र दिवसको सार्थकता

नेपालमा लोकतन्त्र स्थापना भएको पनि १५ वर्ष बितिसकेको छ । यस अवधिमा मुलुकले धेरै आरोहअवरोह पार गरेको छ । राजसंस्थाको अन्त्य गरी जनताको प्रत्यक्ष शासन सञ्चालन हुँदै आएको छ । तर लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि नागरिकको आधारभूत आवश्यकता परिपूर्ति हुन सकेको छैनन् । यो अत्यन्त दुःखको कुरा हो । यसबीचमा नेपाली कांग्रेस, एमालेदेखि एमाओवादी नेतृत्वका सरकारहरू बने, मधेसवादी दलदेखि विभिन्न पार्टी ती सरकारमा सहभागी भए ।
जसले सरकार चलाए पनि जनताले भने लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतान्त्रिक व्यवस्थामा विकास, लोकतन्त्र/गणतन्त्रका अनेकौं विषय र सवालमा बहसहरू भए/भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन नसक्नु विडम्वना हो । लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्नसक्नुपर्छ । अहिले मुलुकमा तीन तहको सरकार छ । तर पनि आमनागरिकले समृद्धि र विकासको वास्तविक अनुभूति गर्न सकेका छैनन् । अझै दुःखी, गरिब र विपन्न जनताको चुलोमा राम्ररी आगोसमेत बल्न सकेको छैन । भ्रष्टाचार, अनियमितता, कमिसनतन्त्रको जरा अहिले पनि मौलाएकै अवस्थामा छ । अहिले त झन विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कमजोर बन्न पुगेको छ । अब यस महामारीबाट पार पाउनका लागि पनि सरकारले रातदिन काम गरेर परिणाम निकाल्न जरुरी देखिएको छ । राजनैतिक नेतृहरुले लोकतन्त्र दिवस मनाइरहँदा आफ्ना तमाम नागरिकको अवस्थाबारे गहन रूपले सोचविचार र विश्लेषण गर्नुपर्छ । दलहरूले व्यक्तिगत र दलीय स्वार्थभन्दा बृहत्तर राष्ट्रिय स्वार्थमा ध्यान केन्द्रित गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा लैजानेतर्फ अग्रसर भई लोकतान्त्रिक संस्कार र व्यवहारको विकास गर्न सके मात्र लोकतन्त्र दिवसले वास्तविक सार्थकता पाउनेछ ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update