Shittalpati
प्रहरीको सन्देश ‘अनिवार्य मास्कको प्रयोग गरौँ’

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि विशेष सचेतना अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो । प्रहरीले सडकबाटै चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतना सन्देश प्रवाह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सहितको टोलीले तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाई मास्क वितरण गरेको छ । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले तपाईको मास्क खोई ? अभियान लिएर प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेय, सुरक्षा निकायका प्रमुख तथा संघ संस्थाका प्रतिनिधिहरुले विहीबारदेखि अभियानको शुभारम्भ गरेका हुन् । अभियानलाई जिल्ला प्रहरी कार्यालयले निरन्तरता दिदै आएको छ ।

शुक्रबार प्रहरीले तानसेनका मुख्य बजार भुषालडाँडा, गैरागाउँ, नारायणस्थान, टँुडिखेल, बज्रचोक, लहरेपिपल र पेट्रोलपम्प लगायतका क्षेत्रमा पुगी सर्वसाधरण नागरिक, चालक, सहचालक र यात्रुलाई मास्क लगाउन प्रोत्साहन गरेको छ । प्रहरीले कोभिड–१९ भाईरस नियन्त्रण तथा रोकथामको लागि जनचेतनामुलक व्यानर, प्लेकार्ड सहित सडकबाटै मास्क वितरण गर्ने र मास्क लगाउन सबैलाई आग्रह गर्दै हिडेको देखिन्छ । सार्वजनिक सवारी साधनमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले माक्सको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले जानकारी दिए । ‘हामीले प्रहरीलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ‘, उनले भने । प्रहरीले सडकबाटै माइकिङ्ग, पर्चा, पम्प्लेट र प्ले कार्डमार्फत सचेतनामूलक कार्यक्रम गरेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम जरिवाना गरिने प्रजिअ पाण्डेले बताए ।
जिल्ला प्रशासन कार्यालयले कोभिड महामारीबाट आफू बचौं र अरुलाई पनि बचाउँ भन्ने उद्देश्यले मास्क सहित सचेतना जगाउदै हिडेको छ । पछिल्लो समय पाल्पामा दैनिक परीक्षण गरिएको दरको ५० प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update