Shittalpati
लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–३’)

 

शालिकराम पाण्डे ‘शिला’
१४ चैत्र २०७६(शुक्रबार)
आज बिहान ६.०० बजेतिर उठें । किन किन आज अलि बढी स्फुर्तिको अनुभव भयो । आधा घण्टा बिहानको घाम तापें । नित्य कर्महरु सम्पन्न भए । कोठामै कफि बनाएर खाए । जागरसँग खाना पकाए । आज बाल सहभागिताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समूह (कन्सोर्टियम) को बैठक थियो । बोर्डका बाह्र जना पदाधिकारीहरु र सातै प्रदेशका संयोजकहरुसँग एकैचोटी भेटघाट हुने मौका थियो ।
भिडियो कलमा बैठक हुँदै थियो । अहिलेको लकडाउनको अवस्थामा बालबालिकामाथि पर्ने असर र नागरिक समाजका भूमिका छलफलको विषय थियो । राम्रो छलफल भयो । अध्यक्षज्यूले सल्लाहकारहरुको समेत सुझाव लिएर कन्सोर्टियमले के गर्ने भन्ने निर्णय सुनाउनुभयो । बाकामलाङमा मास्क अझै नपुगेको थाहा पाए पछि केही सहयोगका लागि बोर्डका साथीहरुसँग छलफल गरे । स्थानीयस्तरमै पाँच सय मास्क बनाउन अर्डर गरियो । विपन्न परिवारलाई साबुन दिन पाए हुन्थ्यो । वडा अध्यक्ष पूर्ण भन्दै थिए । त्यो पनि सम्भावना खोज्ने सहमति भयो । साबुन रामपुरमा पाइन्छ कि ? पाल्पा जिल्लाका स्थानीय तहहरुले गरेका प्रयासहरुको सानो प्रतिवेदन तयार गरी इमेल गरे । सबै गाउँपालिकाहरुले अस्थायी क्वारेन्टाईन बनाएको, बाहिरबाट आउने मान्छेहरुको विवरण राख्ने गरेको तथा क्वारेन्टाइनमा समेत मान्छेहरु राख्न सुरु गरेको पाईयो । गाउँगाउँमा प्रचारका कामहरु भएका भेटिए । स्टाफहरुलाई फलोअप गरें । साथीहरु घरमा बसेर सामान्य कामहरु गरिरहेको भेटियो । आज पनि आफ्नै यात्रा निवन्धहरुको सम्पादनको काम गरे । बालबालिकाहरुलाई अहिलेको अवस्थाबाट हुन सक्ने मानसिक आघातलाई कसरी कम गर्ने भन्ने विषयमा सामग्रीहरुको खोजी र फेसबुकमा प्रारम्भिक सन्देश पोष्ट गरें । विशेष अवस्थामा कर्मचारीहरुलाई घरमा बसेर काम लगाउँन बैधानिक आधार आवश्यक भएको सन्दर्भमा अत्यावश्यक अवस्थामा टेली कार्य सम्बन्धी निर्देशिकाको मस्यौदा बोर्डका साथीहरुलाई पठाईयो र केही साथीहरुले हेरेर स्वीकृत समेत गर्नुभयो । अबको मेरो काम बालबालिकाहरुलाई अहिलेको अवस्थाबाट उनीहरुमा पर्न सक्ने मानसिक आघातहरुलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्ने, छलफल गर्ने, सामग्रीहरु तयार गर्ने विषयमा जान पर्ने हो कि भन्ने लागेको छ । हेरौं के हुन्छ? बयश्कहरुले जस्तो बालबालिकाहरुले आघातहरुलाई सहन् गर्न नसक्ने र कलिलो दिमागमा बढी दवाव महसुस हुने भएकोले कोरोना भाईरसबाट जोगिने र जोगाउँने विषय पहिलो भए पनि मानसिक आघातबाट जोगाउँने विषय पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । हेरौं यो विषयमा मनो विज्ञहरु, बालअधिकारकर्मीहरुको पनि ध्यान तानिदैं गएकोले केही नयाँ कुराहरु आउँछ होला । समस्या के भयो भने केही सामग्री बनाउन पनि एकै ठाउँ हुनुपर्ने र अहिले त्यो संभव देखिन्न । एक्ला एक्लै कोठाकोठाबाट पनि केही गर्न सकिन्छ कि ?

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update